कर्णालीमा बालविवाह : अवस्था उस्तै, बहुविवाह बन्दै भयावह

कर्णालीमा बालविवाह : अवस्था उस्तै, बहुविवाह बन्दै भयावह

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिका–१ की धना विक अहिले २२ वर्ष पुगिन् । २२ वर्षको उमेरमा उनको दुई सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तानलाई जन्म दिइन् ।

बालविवाहका कारण दुई सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान रोजगारीको सिलसिलामा भारत पुगे । रोजगारी खाज्दै भारत पुगेका दम्पती सुख–दुःख गरी साँझ–बिहानको छाक टारिरहेका थिए ।

दुर्भाग्य, रोजगारीकै क्रममा भारतको हिमाञ्चल प्रदेशमा दुर्घटनामा परी धनाको श्रीमान्को मृत्यु भयो । त्यसपछि सुरु भए धनाका दुःखका दिन । दुःखमाथि दुःख थपिए, धनाका । ‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन, ‘श्रीमानको मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले दुई छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’

सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरको वेदना धना सुनाउँछिन् ।

‘बिहे गर्ने मन थिएन्,’ उनले भनिन, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुप¥यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइनँ ।’

धनाजस्तै सोही ठाउँकी परु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन । ‘उबेला ६ कक्षा पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के न होला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागिआएँ । अहिले समस्यै समस्या छन ।’ १७ वर्षीया उर्मिला बुढाले पनि १५ वर्षमा भागी विवाह गरिन । उर्मिलाको घरको अवस्था दयनीय थियो । खान, लगाउनकै समस्या भएपछि भागी विवाह गरेको उनले सुनाइन् ।

‘बुबाआमालाई जिम्मेवारी बढी भयो । विवाह गरे सहज होला भन्ठानेर गरेँ । सानैमा आमा बनियो,’ उर्मिला भन्छिन, ‘त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो ।’ धनाजस्तै जाजरकोटकी १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनीषा सुनार पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पछुतोमा छिन ।

उनिहरु प्रतिनिधि पात्र मात्र हुन । विभिन्न गैरसरकारी सघ संस्था, र सरकारले बालविवाह अन्त्य गर्न विभिन्न कार्यक्रम गरेपनि बालविवाहमा कमि आउन सकेको छैन । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले ‘बाल विवाह गर्न नहुने’ भन्ने शीर्षकमा ‘विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन’ भनी स्पष्ट उल्लेख गरेको छ । यस्तो विवाह स्वतः बदर हुन्छ । तर बाल विवाह हुने क्रम रोकिएको छैन् ।

अभिभावक वा स्वंम बालबालिकामा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा बालविवाह भईरहेको छ । अर्कोतर्फ गरिबी र विभेदका कारणले छोरीको बाल विवाह गरेको पाइन्छ । कतिपयले लहलहैमा लागेर बाल विवाह गर्ने गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म ३१ जनाले बालविवाह गरेको तथ्यांक छ । यो प्रहरीसम्म आईपुगेको घटना मात्र हुन् वा भनौँ सतहमै देखिएका घटना मात्र हुन् । भित्र भित्र लुकेका कैयौँ घटना छन् । उमेर नपुग्दै विवाह गरेकाहरुको जीवन अन्धकारतिर धकेलिएको थुप्रै उदाहरण पाइन्छन् ।
अभिभावक वा स्वंम बालबालिकामा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा बालविवाह भईरहेको अधिकारकर्मी सजना सुनार बताउँछिन् । अर्कोतर्फ गरिबी र विभेदका कारणले छोरीको बाल विवाह गरेको पाइन्छ । कतिपयले लहलहैमा लागेर बाल विवाह गर्ने गरेको उनले बताइन् ।

‘कतिपय अवस्थामा ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन्’, उनले भनिन् ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहेको सुरा सोेच्न थाल्छन् र बिहे पनि गर्छन ।’ बालविवाह रोेकथामका लागि स्थानीय सरकारले जीवनोपयोगी सीप सिकाउनुपर्ने र यौनसम्बन्धी शिक्षा दिनुपर्ने सुनारको सुझाव छ ।

आर्थिक वर्ष २०७७/७८ को सुरुदेखि २०७९ को हालसम्म कर्णाली प्रदेशभर ३१ वटा बालबिवाहसम्बन्धी मद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । २०७७/७८ मा २० वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये बालविवाहमा संलग्न रहेका ९ महिला, १६ जना पुरुष, ७ जना बालक, र ११ जना बालिका पक्राउ परेका थिए । त्यस्तै २०७८/७९ मा ११ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । २०७७÷७८ को तुलतामा प्रहरीको तथ्यांक निहाल्दा यो वर्ष केही कमि आएका देखिन्छ । २०७८/७९ मा २ महिला, ७ पुरुष, ८ बालक,र ८ बालिका पक्राउ परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कर्णालीमा बहुविवाहको अवस्था भयावह बन्दै

पछिल्लो समय कर्णाली प्रदेशमा बहुविवाहको अवस्था भयावह बन्दै गएको छ । बहुविवाह गरेकाले सजाएबाट उम्किनु नै यसको प्रमुख कारण रहेको कानुनविद्हरु बताउँछन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रत्येक वर्ष बहुविवाहका घटनमा वृद्धि हुँदै गएको तथ्यांकमा देख्न सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा ९६ वटा र २०७८/७९ को हालसम्म ८१ वटा मुद्दा गरी जम्मा एक सय ७७ वटा मुद्धा दर्ता भएका छन् ।

२०७७/७८ मा ७९ महिला ७८ जना पुरुष र एक जना बालिका पक्राउ परेका छन् । त्यस्तै २०७८/७९ मा ६० महिला ६३ जना पुरुष पक्राउ परेको कर्णाली प्रदेश प्रहरीले जनाएको   छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले भने, ‘पहिले गाउँघरमा धेरैजसो बहुविवाहका घटना बाहिर आउँदैनथे । मुलुकी अपराध संहिता ऐन, २०७४ पछि उजुरी गर्नेको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।’

प्रतिक्रिया