लोपोन्मुख राउटेले निर्माण गरेका काठका सामग्री भक्तपुरमा प्रर्दशनी

लोपोन्मुख राउटेले निर्माण गरेका काठका सामग्री भक्तपुरमा प्रर्दशनी

दैलेख : लोपोन्मुख फिरन्ते जाती राउटेले निर्माण गरेका काठको सामग्री भक्तपुरमा प्रर्दशन गरिएको छ । राउटेले निर्माण गरेको सामग्री बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन तथा बिक्रीका लागि राखिएको थियो । एईआइएन लक्जेम्वर्गको सहयोग, कर्णाली प्रदेश सरकार र गुराँस गाउँपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा फिरन्ते समुदाय राउटेद्धारा निर्मित काठका सामग्रीहरु प्रर्दशनीमा राखिएको सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले बताए ।

हाल भगवतीमाई गाउँपालिका–२ बेस्तडा बजार नजिकै बसोबास गरिरहेका उनिहरु सामग्री प्रर्दशनीका लागि भक्तपुर पुगेका छन् । राउटे मुखिया सुर्यनारायण शाही लगाएतको टोली आफुहरुले निर्माण गरेको सामग्री प्रर्दशनी तथा बिक्रीका लागि भक्तपुर पुगेका हुन् ।

सबै तस्विरहरु : एइआईएन लक्जेम्वगर्ग ।

काठका भाडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो । जंगलका कु–काठ काटेर कोशी, मदुस, झुमा, पिर्का लगाएतका सामग्री बनाई त्यसलाई गाँउमा गएर अन्नपातसँग साटेर जिविका धान्ने उनिहरुको इतिहास हो । तर, उनिहरुको पेशा नै संकटमा छ । विकासका नाममा जथाभावी सडक खन्ने लगाएतका कारणले वन माँसिदै जाँदा कु–काठ पाउनै छोडेको मुखिया सुर्यनारायण शाही बताउँछन् ।

नेपाललाई विश्वजगतमा चिनाउन र नेपालको सांस्कृतिक विविधता झल्काउन महत्वपूर्ण भूमिका खेलेका राउटेहरु दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो ।

आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन् । कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहीन छन् । नेपालको नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन ।

तस्विरहरु

प्रतिक्रिया