अनाथ बालबालिकाका ‘बा’ तपेन्द्र !

        जितेन्द्र थापा   |   प्रकाशित मितिः बिहिबार, अशोज १३, २०७९     ::: 356 पटक पढिएको   |  

भन्छन्, ‘अटो चलाएर भएपनि हुर्काउछु पढाउँछु’

सुर्खेत : जीवनको सर्वोत्तम कार्य हो मानव सेवा । मानव सेवा, संसार स्वार्थ, कुण्ठा, लाभ, इश्र्या, द्धेष भन्दा धेरै फराकिलो । यस कार्यका लागि कोमल मन मात्र भएर पुग्दैन । त्यो अठोट पुरा गर्ने मनै देखिको हुटहुटी चाहिन्छ ।

भिड र भाइरलको दुनियाँमा क्षणिक मानव सेवा गर्ने वा आवरणमा देखिने देखाउने त अनगिन्ती भेट्न सकिन्छ र अनगिन्ती छन्  । तर, आफ्ना कोही नभएकाहरुलाई, सडकमा जीवन बिताइरहेकाहरुलाई नयाँ जीवन दिएर सडक आश्रित मानव मुक्त बनाउने संकल्प सहितको सोच लिएर अनवरत पूर्णतः स्वंयमसेवी सेवा भावले समर्पित हुने पात्र दुर्लभ छन् । कमै मात्र भेटिन्छन् । र कही कतै मात्र भेटिटिन्छन् त्यस्ता कर्मयोगी, मनयोगी स्वंयमसेवी । त्यस मध्येकै एक दुर्लभ पात्र हुन् कैलालीको बर्दगोरिया गाउँपालिका–१, बहौनियाका तपेन्द्र विक । जसले कार्य क्षेत्र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बनाएका छन् ।

राज्यले निर्वाह गर्नुपर्ने दायित्वमा सरकार लाचार भएपछि विकले आफु र आफु जस्तै स्वंयमसेवी तयार गरे । त्यसपछि उनको मानवरुपी यात्रा सुरु भयो । आमा बाबु कोही नभएकाहरुलाई सडकबाट टपक्क उठाएर ‘साझा घर नेपाल’ नामक संस्था खोलेर यसै अभियानमा लागे । भर्खर आमा बाबा भन्दै तोते बोली बोल्ने देखि आमाबुबाको साथ नपाएका होस् वा सानैमा सबै गुमाएर सडकमा जीवन चलाउनेहरुका लागि उनि ‘बा’ बने । सरकारबाट कुनै सहयोग नपाएता पनि सबैबाट एक–एक मुठि मागेर पनि साना–साना कोपिलाको खाना, नाना, छाना र शिक्षा, स्वास्थ्यमा रेखदेख गर्दै आएका छन् ।

सानैबाट समाजसेवी र मनकारी थिए तपेन्द्र

अनाथ बालबालिकाका ‘बा’ बनेका तपेन्द्रको बाल्यकाल भने सामान्य नै रह्यो । पारिवारिक अवस्था पनि राम्रै छ । खान लगाउन दुःख थिएन । पढ्दै खेल्दै बाल्यकाल बित्यो । कक्षा ८ मा पढ्दै गर्दा उनले कैलालीको टिकापुरमा एक जना मानसिक रोगले पिडीत परियारलाई भेटे । सानै उम्मेरमा बुढाबुढीलाई हेपेको मन पर्दैनथ्यो उनलाई । एक दिन कलेजबाट घर जादै थिए । तपेन्द्रकै अगाडी तिनै परियार दुई रुपैँया दिएर नमकिन किन्न खोज्दै थिए ।

दुई रुपैँयाले नमकिन आउँदैनथ्यो । व्यापारीले झापार्दै हुत्यायो । त्यो दृश्य तपेन्द्रले देखेका थिए । त्यो दृश्य तपेन्द्रलाई मन परेको थिएन । पछि व्यापारीलाई हकार्दै दश रुपैँया दिएर नमकिन किनिदिए । पछि मानसिक रोगी परियार खुशि हुँदै आफ्नो बाटो लागे ।  नमकिन किनेर खान दिएपछि मन सन्तुष्ट भएको तपेन्द्र सम्झिन्छन्  । त्यसै दिनदेखि उनको ध्यान सडकका बालबालिका प्रति गयो । त्यसपछि उनी टुहुरा सडक बालबालिकाका लागि साझा घर स्थापना गरेर समाजसेवामा लागेको तपेन्द्र बताउँछन् । त्यही दिनको त्यो दृश्यले मेरो मानसिकतामा परिर्वतन आयो,’ उनले भने, ‘त्यो दिनले मेरो जीवनको बाटोनै मोडियो । र अब निरन्तर दिनदुखीहरुको सेवा गर्न भनेर लागे ।’

समाजसेवा र बाल्यकाल 

कैलालीको बर्दगोरिया गाउँपालिका–१ बहौनियाका तपेन्द्र विक २९ वर्षीय युवा समाजसेवी हुन् । सानै उमेरदेखि दयालु र समाजसेवामा रुची राख्ने विकका परिवारको सपना थियो, ‘आँखासम्बन्धी डाक्टर बनाउने ।’ २०६९ सालमा कक्षा ११ पढ्दा पढ्दै उज्यालो नेपाल संस्थासँग आवद्ध हुन पुगे । एक वर्ष जति त्यहाँ काम गरिसकेपछि उनी पढ्नका लागि भारतको पुने युनिभर्सिटी गए ।

दुई वर्षको त्यहाँको बसाइँपछि २०७२ मा नेपाल फर्किएका तपेन्द्र्र उज्यालो नेपाल नामक संस्थामा काम गर्ने क्रममै सामाजसेवी बलबबहादुर विष्टसँग जोडिन पुगे । त्यसपछि उनी असहायका लागि सहयोगी हातहरु भन्ने संस्थासँग जोडिएर औषधि उपचार नपाएका, सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई सेवा गरे । पढ्नका लागि उनी भारत गए पनि उनलाई बारम्बार नेपालमै आएर फेरि असहाय, गरिब दिन दुःखीको सेवा गर्ने कुरा मनमुटुमा खड्की रहन्थ्यो ।

घरका बुवा आमाको इच्छा उनलाई आँखाको डाक्टर पढाउने थियो । तर, बुबाआमाको सपनालाई त्यागेर दिन दुखीको सेवामा लागेको उनि बताउँछन् । लामो समयसम्म कैलालीको विभिन्न ठाउँमा बिचल्लीमा परेका सडक बालबालिका, महिला, परिवारविहीन वृद्धवृद्धालाई उद्दार गरी सहारा घरमा ल्याई सेवा गर्ने काम गरेँ । त्यसपछि उनी २०७५ चैत २० मा सुर्खेत आएर साझाघर संस्था दर्ता गरी उनी जस्ता अन्य समाजसेवी युवाहरुसँग समन्वय गरी स्वंयमसेवकको रुपमा साझा घरको स्थापना    गरे । अहिले उक्त साझाघरमा महिला, पुरुष, बालबालिका, वृद्ध असाहय, अपाङ्ग गरी ५९ जनाले आश्रय लिइरहेका छन् ।

‘सबै कुरा हुँदा पनि मेरो मन घरतिर भन्दा सडकका बालबालिकातिर गयो,’ तपेन्द्र भन्छन्, ‘मलाई घरको साहारा र घर परिवारका लागि मेरो ससाहारा होइन्, भोका नांङ्गाहरुका लागि एक छाक खाना खुवाउनु र नांङ्गहरुका लागि शरिर ढाक्नु म जिम्मेवार नागरिकले गर्नुपर्ने सेवा र कर्तव्य हो, यत्ति भए म सन्तुष्ट हुन्छु ।’

अनाथ बालबालिकालाई सहयोग गर्ने साझा घर आफै सहयोगको खोजीमा

२०७५ चैत २० मा खोलिएको साझाघर नामक संस्था पछिल्लो समय सहयोगी हातहरुको पर्खाइमा रहेको छ । अनाथ बालबालिकाको पेट भर्नलाई पनि कैयौँ दिन आफु भोको रहेको अनुभव तपेन्द्रसँग   छ  । ‘हामी एक दिन पनि भोको रहन सक्दैनौँ,’ उनले भने, ‘ति सडकमा मागेर गुजारा गर्ने अनाथ के गर्छन होला ? एक दिन खाना नखाएर बस्नुको पीडा भोग्नेलाई थाह हुन्छ ।’ अहिले साझाघरमा ३१ जना बालक २३ जना बालिका गरि ५४ जना र स्वंयमसेवक गरेर ५९ जनाको परिवार छ । ५९ जनाको पालन पोषण र रेखदेखमा निरन्तर दौडधुपमा हुन्छन् तपेन्द्र र तर,पनि मुस्किलले साँझ विहानको खानाको जोहो हुन्छ । साझाघर अहिलेसम्म सञ्चालकहरुको व्यक्तिगत, जन्मदिन, विवाह उत्सव, संघ संस्थाहरुको वार्षिक उत्सवमा जुटेको खाद्यान्न र सहयोगले चलेको छ ।

कहिलेकाहिँ हुने यस्ता कार्यक्रमले मात्र व्यवस्थापन गर्न समस्या परेका भन्दै सञ्चालकहरु सहयोगी हातहरुको खोजीमा छन् । स्थानीय तथा प्रदेश सरकारलाई पटक–पटक सहयोगको अपिल गरे पनि सहयोग नभएको तपेन्द्र विक बताउँछन् । साझाघर नेपाल अझै सहयोगी हातहरुको खोजीमा छ । अहिले पनि अनाथ बालबालिकालाई खान बस्नको समस्या रहेको छ । मासिक ८० हजार घरभाडा रहेको छ ।

आफ्नो कोही नभएको अवस्थामा पनि साझा घर नेपालले रेखदेख गरेको छ । संस्था बन्द भएपछि आफू कहाँ जाने भन्ने चिन्ता भएको कालीकोट खाँडाचक्र–५ का मानबहादुर नेपालीले बताए । ‘घरमा पनि कोही छैनन् यही संस्थाले यहाँसम्म ल्याएपछि हामीलाई बाच्न सहज भएको छ । संस्था नै बन्द भएपछि के गर्ने होला, कहाँ जाने होला भन्ने चिन्ता लाग्ने गरेको छ,’ उनले भने ।

यस्तै देलेखका रविन्द्र पनि कक्षा ४ साझा घरमै बसेर पढ्छन् । सहयोगको अभावमा साझाघर बन्द हुन लागेको छ भन्ने सुनेपछि बारम्बार चिन्ता लाग्ने गरेको बताए । साझा घरमा भिम बहादुर विश्वकर्मा अध्यक्ष, उपाध्यक्ष विष्णु शाही महासचिव विनोद चौलागाई सचिव तपेन्द्र विक, कोषाअध्यक्ष सिता सुनार, बर्दि चौलागाई, लोकेन्द्र बिष्ट, सितल तिरुवा लगायतको टिम छ ।

 



Leave a comment

Your email address will not be published.


*