१२ वटा मोटरसाइकलसहित चोरी गिरोहमा संलग्न ६ जना पक्राउ

१२ वटा मोटरसाइकलसहित चोरी गिरोहमा संलग्न ६ जना पक्राउ


चोरी गिरोहमा संलग्न रहेका र फेला परेको मोटरसाइकल सार्वजनिक गर्दै दैलेख प्रहरी । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : आठबीस नगरपालिका–१ का कुश्माखर आचार्यको १५० सिसीको पल्सर मोटरसाइकल भदौ गत ७ गते राखेकै ठाउँबाट बेपत्ता भयो । लक्ष्मी मावीको प्रअसमेत रहेका आचार्यले आफ्नो मोटरसाइकल सत्तलास्थित हस्तबहादुर थापाको घरमा राखेका थिए । मोटरसाइकल चोरी भएपछि उनले खोजी सुरु गरे । तर भेटाउन सकेनन् । ‘धेरै खोजी गरे, तर भेट्टाउन सकिएन्, भेटिन्छ भन्ने आश मारिरहेको थिएँ तर, प्रहरीमा निवेदन दिएपछि मोटरसाइकल भेटिन्छ की भन्ने आश लागेको थियो,’ उनले भने । आफुले प्रयोग गर्दै आएको मोटरसाइकल चोरीभएपछि नयाँ किनिसकेका आचार्य बिहीवार खुसी देखिन्थे । कारण, प्रहरीले उनको चोरी भएको मोटरसाइकल फेला पारेको छ । प्रहरीले उनको मोटरसाइकलमात्र होइन, चोरी गर्ने गिरोहलाई पनि पक्राउ गरेको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–६ स्थित वडा कार्यालयको मोटरसाइकल खरिद गरेको ३ दिनमै चोरी भयो । वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार सरकारी नम्बर प्लेटको मोटरसाइकल भदौ २५ गते हराएको हो । ‘मोटरसाइकल बेपत्ता भएपछि चोरी भएको आशंकमा तत्काल प्रहरीलाई खबर गरेको थिएँ, भेटिन्छ की भेटिदैन् भन्ने शंका थियो, अन्ततः दैलेख प्रहरीको सक्रियतामा मोटरसाइकल फेला पा¥यो ।’ उनले प्रहरीलाई धन्यवाद समेत दिए ।

यी दुई वटामात्र होइन, दैलेख प्रहरीले विभिन्न समयमा हराएका १२ वटा मोटरसाइकल फेला पारेको छ । मोटरसाइकल सहित डाँका तथा चोरी गिरोहमा संलग्न रहेका ६ जना युवाहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए । ‘विभिन्न मितिमा मोटरसाइकल हराएको भन्दै प्राप्त निवेदनका आधारमा विभिन्न स्थानबाट चोरी भएका १२ वटा मोटरसाइकल र चोरी गिरोहमा संलग्न रहेकाहरुलाई पक्राउ गरिएको छ, उनिहरुमाथी थप छानविन र अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी साहले भने ।

उनका अनुसार चामुण्डाविन्द्रासैनी नगरपालिका–८ का २१ वर्षीय रोशन शाही, २० वर्षीय दिनेश शाही, २१ वर्षीय बिनोद शाही र २० वर्षीय आशिष शाही पक्राउ परेका छन् । यस्तै दुल्लु नगरपालिका–५ मा साथी अटो पार्टस (ग्यारेज) सञ्चालन गरी बस्ने दुई जनालाई समेत पक्राउ गरिएको डिएसपी साहले बताए । ग्यारेज सञ्चालन गरी बस्ने दुल्लु नगरपालिका–७ का २८ वर्षीय पुस्करबाबु बज्राचार्य र वडा नम्बर ९ का २० वर्षीय जनक पुरी रहेको उनले बताए । हालसम्म मोटरसाइकल हराएको भन्दै निवेदन दिने जाहेरवाला पीडितहरु ६ जना खुल्न आएको डिएसपी साहले जानकारी दिए ।

प्रतिक्रिया