दशैंमा खाद्य डिपो रित्तै

दशैंमा खाद्य डिपो रित्तै


दैलेखस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखाको खाद्य डिपो ।

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाका–८ का ६५ वर्षीय दुर्गा प्रसाद उपाध्याय सहुलियत दरको चामल लिन सदरमुकाम आईपुगे । चार सय रुपैयाँ बस भाँडा तिरेर सदरमुकाम आएका उपाध्याय दिनभर लाईनमा बसे । तर, बेलुका रित्तो हात घर फर्किनु प¥यो । खाद्य डिपोमा समेत चामल सकिएपछि रित्तो हात फर्किनु परेको उनले बताए । ‘दशैंको लागि सहुलियतमा चामल लिन आएको थिएँ तर रित्तो हात फर्किनु प¥यो,’ उनले भने ।

उपाध्याय जस्तै नारायण नगरपालिकाका धनबहादुर खड्का पनि बडा दशैँका लागि जीरा मसिनो चामल लिन खाद्य डिपोमा आए । दिनभर लाईनमै बसे । उनि पनि रित्तो हात घर फर्किए । उपाध्याय र धनबहादुरजस्तै बडा दशैंमा सहुलियत दरमा चामल लिन खाद्य डिपोमा आएकाहरु रित्तो हात फर्किनु परेको छ । गाउँ गाउँबाट सहुलियत दरको चामल लिन आएका स्थानीयहरु रित्तो हात घर फर्किएका हुन् । जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा र चारवटा बिक्री केन्द्र छन् । कम्पनीको शाखामा अहिले जिरा मसिनो चामल सकिएको छ । कम्पनीमा सहुलियत दरमा बिक्रीवितरणका लागि ल्याईएका जिरा मसिनो चामल सकिएको हो । आवश्यक हुनेहरुले मोटो चामल लिईरहेको निमित्त शाखा प्रमुख रविनकुमार रेग्मीले बताए ।

जिल्लाको अन्य चार पालिकामा बिक्री केन्द्रहरु भने रित्तै छन् । ठाटीकाँध, चामुण्डाविन्द्रासैनी, नौमूले र बेस्तडा बिक्री केन्द्रको चामल नै छैन् । निर्वाचन क्षेत्र नं. १ को नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका तथा निर्वाचन क्षेत्र नम्बर २ को ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका खाद्य बिक्री केन्द्र झण्डै ३ बर्षदेखी रित्तै छन् । जिल्ला सदरमुकामस्थित खाद्य डिपो र बिक्री केन्द्रहरुमा चामल नहुँदा दशैंको मुखमा स्थानीयहरु महंगो मुल्य तिरेर खाद्यान्न किन्न बाध्य छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा सहुलियत दरमा बिक्री वितरण हुने खाद्य डिपो सञ्चालनमा आएको थाहा नपाएको स्थानीय हर्कबहादुर विकले बताए । उनले आफुहरुले अहिलेसम्म सहुलियत दरमा चामल नपाएको गुनासो पाखे । कम्पनीले दशैं तिहार र छठ पर्वलाई लक्षित गरेर असोज १ गतेदेखि कात्तिक १५ गतेसम्मका लागि सहुलियत छुट मुल्य पसल सञ्चालन गरेको थियो । दैलेखको लागि पाँच सय कोटा छुटमा बिक्री वितरण गर्ने कोटा छुट्याईएको थियो । कम्पनीले पाँच सय क्वीन्टल खाद्यान्न बिक्री वितरणमा प्रति केजी सात रुपैयाँ छुट गरेको थियो ।

चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी दैलेखको बिक्री केन्द्रहरुमा दशँैअघि चामल पुग्ने सम्भावना छैन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थल मार्गबाट खाद्यबस्तु ढुवानी गर्न असार १९ गते कम्पनीको दैलेख शाखा र चारवटै बिक्री केन्द्र लगायतका लागि टेन्डर आह्वान गरेको थियो ।

कम्पनीका निमित्त शाखा प्रमुख रेग्मीका अनुसार केन्द्रबाट टेन्डर स्वीकृत भएका ढुवानी सेवालाई सम्झौता गर्न आउन असोज ५ गते सूचना निकालेको र १५ दिने समय दिईएको कारण दशैँँअघि चामल बिक्री केन्द्रमा पुग्ने सम्भावना कम छ । सुर्खेतदेखि दैलेख सदरमुकामसम्म चामल ढुवानीका लागि बराल ढुवानी सेवा, राजापुरदेखि दैलेख सदरमुकामका लागि खुसी टेड्रर्स, सुर्खेतदेखि ठाटीकाँध, चामुण्डाविन्द्रासैनी, नौमूले र बेस्तडा बिक्री केन्द्रसम्म ढुवानीका लागि कौशिला जनरल स्टोर छनौट भएका छन् ।

प्रतिक्रिया