जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा तरियाँका कृषक

जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा तरियाँका कृषक

दैलेख : जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरु तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकहरुले जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायूमैत्री नमूना गाउँ बनाउने अभियानमा समेत स्थानीय सक्रिय छन् ।

डिसिए नेपालको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित ग्रिन कर्णाली परियोजना र यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित उत्थान परियोजनाले तरियाँका कृषकहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।

गाउँमा तरियाँ बेमौषमी तरकारी उत्पादन कृषक समुह गठन गरिएको छ । समुहमा १५ जना किसान आबद्ध छन् । सोसेक नेपालबाट यहाँका कृषकहरुलाई १० वटा फलामे पलाष्टिक घर र २० वटा कच्ची पलाष्टिक घर सहयोग उपलब्ध गराईएको उत्थान परियोजनाका कृषि प्राविधिक संगम विस्टले बताइन् ।

उनका अनुसार कृषकहरुलाई १५ वटा पहेलो पासो, १५ वटा मोहनी पासो, २० वटा पलाष्टिक पोखरी, २० वटा हजारी, ३० वटा जैविक विषादी बनाउने पलाष्टिक ड्रम, २० वटा थोपा सिंचाई, २० वटा दाँते, १५ वटा लिफ कलर चार्ट, ३० वटा पन्जा र २० जोर गार्डन पाइप सहयोग गरिएको छ । स्थानीय ३० घरधुरीमा भकारो सुधार कार्यक्रम समेत कार्यान्वयन गरिएको छ ।

कृषि प्राविधिक विस्टले तरियाँ गाउँलाई जलवायूमैत्री नमूना गाउँ बनाउन उत्थान परियोजना र ग्रिन कर्णाली परियोजनाबाट विभिन्न गतिविधि सञ्चालन गरिएको बताईन् । ग्रिन कर्णाली परियोजनाले गाउँमा हरित प्रर्वद्धनका लागि १५ जना कृषकलाई तीन सय कागतीका विरुवा दिएको थियो ।

गाउँका कृषकहरु अहिले मौषमी तथा मेमौषमी तरकारी उत्पादनमा हौसिएको स्थानीय कर्णबहादुर थापा बताउँछन् । गाउँमा तरियाँ बेमौषमी तरकारी उत्पादन कृषक समुहका अध्यक्ष समेत रहेका थापाले गाउँका सबै कृषकहरुले तरकारी खेती लगाएतका गतिविधिमा जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाईरहेको बताए ।

समुहका सचिव जयबहादुर खड्काले कृषकहरुले टनेलमा तरकारी खेती गरिरहेको बताए । ‘भकारो सुधार कार्यक्रम कार्यान्वयन गरिएको छ,’ उनले भने ‘हामीले नमूना गाउँ बनाउन जलवायूमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाएका छौँ ।’

प्रतिक्रिया