दैलेख–१ : प्रदेश सभा १ मा एमालेका रेग्मी र गठबन्धनका खत्रीको भिडन्त

दैलेख–१ : प्रदेश सभा १ मा एमालेका रेग्मी र गठबन्धनका खत्रीको भिडन्त

दैलेख : दुई वटा प्रतिनीधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नम्बर १, प्रदेश सभा १ मा दुई मुख्य प्रतिस्पर्धी छन् । उनिहरु हुन्, नेकपा एमालेका धर्मराज रेग्मी र गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पूर्णबहादुर खत्री । यो प्रदेश सभामा एक स्वतन्त्रसहित पाँच जना चुनावी मैदानमा रहेपनि रेग्मी र खत्री नै मुख्य प्रतिस्पर्धी हुने देखिन्छ । यी दुई प्रतिस्पर्धी अहिले मतदाता रिझाउन घरदैलो गरिरहेका छन् ।

एमालेका उम्मेदवार रेग्मी कर्णाली प्रदेश सभाका लागि दोस्रो पटक चुनावी मैदानमा छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कानून विभागका उप–प्रमुख समेत रहेका रेग्मी २०७४ मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेका थिए । उनले नेपाली काँग्रेस दैलेखका पूर्व सभापति कृष्णकुमार विसीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित भएका थिए । रेग्मीले १० हजार ३ सय ६१ मत पाउँदा काँग्रेसका बिसीले ८ हजार ७ सय ६५ मत पाएका थिए ।

तत्कालिन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपा विभाजनपछि रेग्मीले एमाले रोजेका थिए । माओवादी केन्द्रबाट निर्वाचित उनले दल त्याग गरेपछि प्रदेश सभामा पूरा कार्यकाल बिताउन पाएनन् । संबैधानिक कानूनको विज्ञका रुपमा सर्बोच्च अदालतमा वकालत र संबैधानिक कानूनमा अध्यापन गरेका रेग्मीले संविधान निर्माण प्रक्रियामा विषय विज्ञको रुपमा योगदान दिएका थिए ।

सांसदहरुको अन्तराष्ट्रिय नेटवर्क ग्लोबल पार्लियामेन्ट्री फोरममा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका रेग्मीले कर्णाली प्रदेश सभासदस्यका रुपमा प्रदेश कानून निर्माणमा उल्लेखनिय भूमिका निर्वाह गरेका थिए । उनि मानव अधिकार, विधिको शासन, भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा समर्पित अभियान्ताको रुपमा परिचित छन् । उनले प्रदेश सभामा पहिलो कार्यकालमा सुरुवात गरेका विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यलाई निरन्तरता दिनुका साथै नयाँ कार्य थालनी गर्न चुनावमा होमिएको बताउँछन् । जनताको जीवन सहज र समृद्ध बनाउने बाचासहित चुनावी मैदानमा रहेका रेग्मीले आफ्नो जीत सुनिश्चित रहेका दाबी गरे ।

रेग्मीका मुख्य प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका पूर्णबहादुर खत्री पहिलो पटक निर्वाचनमा उत्रिएका छन् । उनि गठबन्धनको सहयोगमा प्रदेश सभामा प्रवेश गर्ने दाउमा छन् । पार्टीको विभिन्न पदमा रहेर काम गरेका र थुप्रै सामाजिक संघ संस्थाहरुमा आबद्ध भएका खत्री नेपाल विद्यार्थी संघ दैलेखका संस्थापक अध्यक्ष हुन् । २०४२ देखि २०४६ सम्म नेपाली काँग्रेस दैलेखको सल्लाहकार रहेका खत्री ९ औँ महाधिवेशनपछि सहसचिवको कार्यभार सम्हालेका थिए । १३ औँ महाधिवेशनमा कोषाध्यक्ष बनेका खत्री १४ औँ महाधिवेशनमा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल परिवार नियोजन संघ दैलेखको दुई कार्यकाल सभापति रहेको खत्री नेपाल रेडक्रस सोसाइटीको दुई कार्यकाल उपसभापति थिए । उनलाई गठबन्धनको साथ छ । गठबन्धन दलको साथमा सबैले इमान्दारिताका साथ सहयोग गर्ने र चुनाव जित्नेमा उनि ढुक्क छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले पाएको मतलाई नै आधार मान्दा पनि आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ ।

यो प्रदेश सभामा जिल्लाका गुराँस, डुङ्गेश्वर र भगवतीमाई गरि तीन वटा गाउँपालिका पर्दछन् । स्थानीय तहको निर्वाचनमा यी तीन पालिकाका सबै वडामा नेपाली काँग्रेसले ९ हजार ६ सय १९ मत पाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रले एक हजार एक सय ७४ र नेकपा एकिकृत समाजवादीले २ हजार ६९ र राष्ट्रिय जनमोर्चाको २० मत मात्रै प्राप्त गरेको थियो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा समेतको मत जोड्दा गठबन्धनको मत १२ हजार ८ सय ८२ हुन्छ । एमालेले तीन वटै स्थानीय तहका वडामा पाएको मत ९ हजार ४ सय २ छ । यस हिसावले यहाँ एमाले पछि छ । तर, यी दुई प्रतिस्पर्धाीबीचको चुनावी भीडन्त रोचक देखिन्छ । निर्वाचन आयोगका अनुसार यो प्रदेश सभामा ३५ हजार ४ सय ९९ मतदाता छन् ।

प्रतिक्रिया