बाल विवाहको परिणाम : स्वास्थ्य र शिक्षाको अधिकार गुमाउनेदेखि सम्बन्ध बिच्छेदसम्म

बाल विवाहको परिणाम : स्वास्थ्य र शिक्षाको अधिकार गुमाउनेदेखि सम्बन्ध बिच्छेदसम्म

दैलेख : बाल विवाह गर्नेहरुले स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउनेदेखि सम्बन्ध बिच्छेदसम्मको परिणाम भोग्ने गरेको पाईएको छ । शनिवार दैलेखमा बालविवाह विरुद्ध साझा अभियान जिल्ला संजाल दैलेखले आयोजना गरेको बाल विवाहको अवस्था विषयक पत्रकारहरुसँगको छलफल (पत्रकार सम्मेलन) कार्यक्रममा यस्तो अवस्था सार्वजनिक गरिएको हो ।

संजालका संयोजक एवं संजालको संयोजक संस्था सोसेक नेपालका उपकार्यकारी प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा छलफलसँगै संजालले एक विज्ञप्ती समेत सार्वजनिक गरेको छ । जारी विज्ञप्तीमा बालविवाहका कारण, शारीरिक तथा मानसिक रोगको शिकार हुने, बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउने, घरमा विभेद र घरेलु हिंसा र बहु विवाह सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने, कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च, व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन बर्बाद हुन सक्ने, प्रजनन स्वास्थ्यमा हानी हुनसक्ने र परिवार चलाउन गाह्रो हुने जस्ता समस्याहरु निम्तिएका उल्लेख छ ।

दैलेखमा लुकिछिपी बालविवाह गर्नेको संख्या उत्तिकै रहेको विज्ञप्तीमा उल्लेख छ । ‘दैलेखको सन्दर्भमा गरिबी, विभेद, अर्काको लहलहैमा लागेर बालविवाह गर्ने गरेको पाइन्छ, कतिपय परिवारमा अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ,’ विज्ञप्तीमा भनिएको छ ‘अभिभावक र स्वयम् बालबालिकामा शिक्षा र चेतनाको कमी तथा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा प्रष्ट जानकारी नहुनु पनि बालविवाहका कारणहरु हुन् ।’

बालविवाह बिरुद्धका अभियानलाई प्रभावकारी बनाउन विज्ञप्ती मार्फत आह्वान समेत गरिएको छ । ‘स्थानीय, प्रदेश र संघ सरकारसँगै गैरसरकारी संघ संस्थाको हातेमालोमा बालविवाह अन्त्य सम्भव छ,’ विज्ञप्तीमा भनिएको छ ‘बालविवाह अन्त्य गर्न छोरीहरुको सशक्तिकरण, बालक र बालिकालाई यौन तथा प्रजनन् शिक्षा प्रदान, अभिभावकलाई सचेतना जगाउने तथा बालविवाह गर्ने, गराउनेलाई कानूनी कारबाहीको दायरामा ल्याउन र सामाजिक बहिस्कार गर्नेसम्मका गतिविधिमा प्रतिबद्ध भई सोही अनुसारका कार्यक्रम तथा अभियानहरु सञ्चालनका लागि सरोकारवाला निकायहरुलाई समेत आह्वान गर्दछौँ ।’

बालविवाहकै कारण बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने विषयलाई समुदाय स्तमा बुझाउन संगठित आवाज उठाउन समेत अपिल गरिएको छ । विज्ञप्तीमा राज्यले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य लिए अनुसार तत्अनुसार कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयनमा कडाई गर्न आग्रह गरिएको छ ।

कार्यक्रममा जिल्लामा बाल विवाहको स्थिती, बाल विवाहको कारण, बाल विवाहपछि निम्तिएको समस्या, बाल विवाह अन्त्यको लागि थाल्नुपर्ने प्रयास लगाएतका विषयमा छलफल गरिएको छ । कार्यक्रममा संजालका संयोजक बसन्त कुमार श्रेष्ठले बालविवाह मानव अधिकारको हनन् मात्रै नभई विकास र समृद्धिको बाधक समेत रहेकाले बाल विवाह उन्मुलन गर्नुपर्ने आवश्यकता औल्याए । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बाल विवाह अन्त्यको सवालमा स्थानीय तहहरुले चासो नदिएको बताए ।

जिल्लामा बालविवाहको व्यवहारिक रुपमै अन्त्य गर्न बालविवाह विरुद्ध साझा अभियान जिल्ला संजाल दैलेखले पछिल्लो केहि महिनायता विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । बालविवाह गैरकानुनी हो । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ ।

यस्तो छ, बालविवाह विरुद्ध साझा अभियान जिल्ला संजाल दैलेखले जारी गरेको प्रेस विज्ञप्ती ।

प्रतिक्रिया