प्रचण्डको संगतले देउवापनि बन्दुकको भाषा बोल्न थाले : ओेली

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः आइतवार, कार्तिक २७, २०७९     ::: 132 पटक पढिएको   |  

 शेरबहादुर देउवा गृहमन्त्री ५० भन्दा धेरै पटक पक्राउ परेँ 

दैलेखको चामुण्डाविन्द्रासैनी नगरको जम्बुकाँधमा आयोजित विशाल सभालाई सम्बोधन गर्न पुगेको एमाले अध्यक्ष ओली। तस्बिर : हिक्मतबहादुर नेपाली

दैलेख (जम्बुकाँध) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पनि बन्दुकको भाषा बोल्न थालेको आरोप लगाएका छन् । आइतवार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजित एमालेको विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको रक्षा र विकास नेकपा एमालेबाटमात्रै सम्भव भएको बताए । ‘एमाले देशको विकास गर्ने देश भक्ती पार्टी हो, जनतालाई खुसी दिने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन पार्टी हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादी केन्द्रतर्फ इंकित गर्दै भने ‘नेपालमा मारकाट गर्ने, आतंक मच्चाउने, महिलाहरुलाई विधुवा बनाउने, घाइते, अपांग बनाउने, बेपत्ता बनाउने पार्टीहरुपनि छन् ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देवालाई पाँच पटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के–के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन् । उनले देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा मुलकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती समेत दिएका छन् । ‘शेरबहादुर देउवाले देशका लागि कुनै पनि काम गरेका छैनन्,’ ओलीले भने । तत्कालिन समयमा शेरबहादुर देउवा गृहमन्त्री हुँदा आफु ५० भन्दा धेरै पटक पक्राउ परेको ओलीले बताए । अहिलेको पाँच दलिय गठबन्धनले जनतालाई भुलाउने काम मात्रै गरिरहेको उनको आरोप थियो । गठबन्धनको सरकारले बजेट बनाउँदा खास घरानाका व्यापारिक प्रतिनिधि राखेर करका दर तोकेर राज्यको ढुकुटी लुट्ने काम गरेको बताउँदै ओलीले उनले वर्तमान सरकार निकम्मा भएको आरोप लगाए ।

२०५१ मा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले हारे लगतै राप्रपा नेता स्वर्गीय राजेश्वर देवकोटाले गोरु ब्याउँदैन भन्थे, अदालतमा ब्यायो भन्नुभएको थियो, ‘अहिले पनि अदालतमा गोरु ब्याए जस्तै भयो, यस पटक त अदालतले पाँच वटा पाठा पायो ।’ परमादेशबाट बनेको सरकारले अर्थतन्त्र धारासायी बनाएको र देशको हालत बर्बाद गराएको ओलीको टिप्पणी छ ।

उनले २०५१ सालमा एमालेको सरकारले ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने लोकप्रिय कार्यक्रम सुरुवात गरेको बताए । एमालेले एक सय रुपैयाँबाट सुरु गरेको भत्ताले नागरिकको सामाजिक सुरक्षा बढाउनुका साथै अहिले आएर विपन्न नागरिकहरुलाई जीवनयापनमा ठूलो सहयोग गरेको दाबी गरे ।

अध्यक्ष ओलीले घोषणापत्रमार्फत एमालेले २० ग्यारेन्टी सार्वजनिक गरेको बताए । एमालेले सेनेटरी प्याड खरिद गर्नका लागि महिलालाई एक हजार ५ सय रुपैयाँ नगद दिने योजना अघि सारेको समेत ओलीको भनाई छ । जसले महिलाको महिनावारीलाई मर्यादित बनाउन ठूलो योगदान दिने दाबी ओलीको छ । बालबालिका, महिला, जेष्ठ नागरिक, किसान, मजदुरका लागि एमालेले थुप्रै कामहरु गरेको बताए ।

अर्को प्रसंगमा ओलीले वार्ताको माध्ययमबाट नेपाली भूमि फिर्ता ल्याएरै छोड्ने प्रतिबद्धता जनाएका छन् । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य एमाले नेतृत्वको सरकार हुँदा सुरु गरेको उल्लेख गर्दै ओलीले उक्त काम एमालेले नै पुरा गर्ने दाबी गरे । ‘एमाले नेतृत्वको सरकारले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन्को काम पुरा गर्छ,’ ओलीले भने ‘नेपाललाई चाहिने प्रयोग गर्छौँ, बढि भएको विदेशमा बेच्छौँ ।’ देशका विभिन्न क्षेत्रमा रहेका खानीहरुको खोजी तथा आवश्यक अन्वेषणको काम पनि एमालेले नै अघि सारेको दाबी गरे । अध्यक्ष ओलीले दैलेख जिल्लालाई विकास गर्ने जिम्मा आफ्नो रहेको बताए ।



Leave a comment

Your email address will not be published.


*