निर्भयपूर्वक मतदान गर्ने वातावरण बनाउन आग्रह

निर्भयपूर्वक मतदान गर्ने वातावरण बनाउन आग्रह

दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले निर्भय पूर्वक मतदान गर्न पाउने वातावरण बनाउन पत्रकारहरुसंग आग्रह गरेका छन् ।

इन्सेकले निर्वाचन आचार सहिंता पालना र मतदान पहिलेको अवस्था विषयमा विहीवार दैलेख सदरमुकाममा गरेको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा उनले भोलि शुक्रवारदेखि लागू हुने मौनसमयका पालना भए नभएको खवरदारी आवश्यक रहेको बताए ।

प्रदेश संयोजक सुबेदीले समयमा मिडियामा सूचना आउँदा आचार सहिंता पालना पर्ने राजनीतिक दल र उम्मेदवारलाई सजग गराउनुसंगै सरोकारवाला निकायलाई कार्यान्वयन गराउन सहज हुने भएकोले आचार सहिंता उलंघनका सत्यतथ्य घटनाहरु सार्वजनिक हुनुपर्ने धारणा राखे ।

मानव अधिकार रक्षक सञ्जाल दैलेखका संयोजक विशाल सुनारको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु बिष्णु शर्मा, तीर्थ भण्डारी, कमल शर्मा, अधिकारकर्मी रमा श्रेष्ठ जिल्लामा निर्वाचन आचार सहिंता पालनाको अवस्था र सरकारी निकायको तत्परता विषयमा बोलेका थिए ।

मतदान पूर्व निर्वाचन आचार सहिंता पालनाको प्रभावकारिता विषयमा स्थलगत अध्ययन गर्न आएको (इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुबेदी नेतृत्वको टोली दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश बलराम लम्साल, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, आचार सहिंता अनुगमन अधिकृत मोहन जैसवाल र जिल्ला निर्वाचन कार्यालयका प्रमुख मनमाया काउचासंग भेटघाट गरेको थियो ।

भेटघाटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यक्रम अनुसार मङ्सिर ४ गते हुने मतदानमा सबै मतदाताले सहजै र निर्भयपूर्वक सहभागी हुने वातावरण निम्ति भइरहेका तयारी, सरोकारवाला निकायसंग सहकार्य, पत्रकार र पर्यवेक्षकहरुले गर्ने पर्यवेक्षण काममा समन्वय विषयमा छलफल भएको थियो ।

इन्सेकको मतदान पूर्वको अवस्था अध्ययन टोलीले हिजो बुधवार राउटे समुदायको चुनाव चासो विषयमा राउटे समुदायसंग छलफल भएको थियो । टोलीले निर्वाचनमा स्थानीय सरकारको समन्वय विषयमा बेस्तडा पुगेर भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापा लगायतका अधिकारीहरुसंग भेट गरी जानकारी लिएको थियो ।

अध्ययन टोलीले समुदायका सवाल जान्न दैलेख सदरमुकाम नजिकै नमूनाबस्तीका बादी समुदायले घरबास बनाई १९ वर्षदेखि बसेको जग्गाको पूर्जा नपाएको, त्यहाँ खानेपानी, शौचालय लगायतका भौतिक सुविधाबाट बञ्चित रहेको विषय उठाएका थिए ।

टोलीले निष्पक्ष, शान्त र निर्भयपूर्वक वातावरणमा मतदानको अवस्था भए नभएको अनुगमन गर्न इन्सेक दैलेखका ११ वटै स्थानीय तहहरुमा नियुक्त गरेका निर्वाचन पर्यवेक्षकहरुलाई पर्यवेक्षण काममा तटस्थता र आचार सहिंता पालनाको अपरिहार्यता विषयमा अभिमुखीकरण गरिएको थियो ।

इन्सेकले देशभर सबै स्थानीय तहमा पर्यवेक्षक खटाउने कार्यक्रम अन्तरत दैलेखका ११ स्थानीय तहमा एक–एक जना निर्वाचन पर्यवेक्षक खटाएको छ । देशभर सबै स्थानीय तहमा गरी सात सय ५० जना र त्यस अन्तरगत दैलेख लगायत कर्णाली प्रदेशमा ७९ जना पर्यवेक्षक नियुक्त गरेको इन्सेकले जनाएको   छ ।

प्रतिक्रिया