जो पतिको शव छोडेर मतदान गर्न पुगिन्

जो पतिको शव छोडेर मतदान गर्न पुगिन्

दैलेख : महाबु गाउँपालिका–३ की ६९ वर्षीया पदमकला बोगटी ७४ वर्षीय पति डबलबहादुरको साथमा यसपटक पनि मतदान गर्न पाउनेमा हर्षित थिइन्। वृद्धावस्थामा पनि मुलुकको मुहार फेर्ने उम्मेदवार छान्न पाउने भएकाले शनिबार दिउँसोसम्म आइतबार हुने मतदानका विषयमा नै कुराकानी गरिरहे। तर, जब साँझ पर्यो, पदमकलाको जीवनमा पनि अन्धकार छायो। दिनभर मतदानको कुरा गरेका श्रीमान्को निधन भयो।

पतिको निधनले पीडा त छँदै थियो, मतदानको दिन दाहसंस्कार गर्नुपर्ने अर्को बाध्यता थपियो। तर, उनले मन दह्रो बनाइन् र गाउँलेलाई भनिन्, ‘पहिले मतदान गरौं। अनि दाहसंस्कार गरौंला। उहाँ (पति)को पनि मतदान गर्ने ठूलो चाहना थियो। तर, उहाँले पाउनु भएन।’

शनिबार निधन भए पनि डबलबहादुरको दाहसंस्कार भने भएको छैन। अन्तिम संस्कारका लागि श्रीस्थान पुर्याउनुपर्ने भएकाले दूरीसमेत टाढा भएको र निर्वाचन पनि परेकाले घरसल्लाहमै रोकिएको गाउँले बताउँछन्।
आइतबार पदमकलाले पनि पतिको अन्तिम दाहसंस्कारभन्दा मतदान ठूलो ठानिन्। पदमकलाका नातेदार लालबहादुर विष्ट भन्छन्, ‘उहाँले पतिको दाहसंस्कार एकदिन ढिलो गरी गरौंला, बरु आज जसरी पनि मतदान गर्नुपर्छ भन्नुभयो। अब मृतकको दाहसंस्कार सोमबार गर्नेगरी शवलाई घरमै राखिएको छ। पदमकलाले पनि आइतबार मतदान गर्नुभयो।’

विष्टका अनुसार पदमकलासँग दाल खान्छु भनेर मागेका डबलबहादुरको दालको भाँडा समात्न खोज्दाखोज्दै एक्कासि ढलेका थिए। पदमकलाले महाबु गाउँपालिका—३ को भगवती प्राथमिक विद्यालय रिठा मतदान केन्द्रमा मतदान गरेकी छन्। पति गुमाएको पीडा लुकाएर मतदान केन्द्रमा पुगेकी पदमकलाले भनिन्, ‘आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ भन्ठानेर आएकी हुँ।’

यसभन्दा अघि पटकपटक मत हालेर धेरै नेताहरूलाई संसद् र सत्तामा पुर्याए पनि गरिब र दुःखीको जीवनस्तर जहाँको त्यहीँ रहेको उनले बताइन्। ‘अहिलेसम्म त नेताहरूले केही गरेनन्, अब त केही हुन्छ कि भनेर पतिको लास घरमै राखेर देशको विकास हुने आस बोकेर मतदान गर्न आएकी हुँ’ उनले भनिन्। बोगटी दम्पतीका दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया