दैलेख–१ : मतगणना सुरु

दैलेख–१ : मतगणना सुरु

गुराँस गाउँपालिका–५ को कृष्णमावी सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका–४ को बुद्ध आवी सेरी दोवाटोको (क) केन्द्रमा खसेको मत गणना सुरु भएको छ ।

दैलेख : दैलेख क्षेत्र नं. १ को मतगणना सुरु भएको छ । सोमवार विहान पौन ११ बजेबाट मत गणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मत गणना सुरु भएको हो । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ बाट मत गणना सुरु भएको हो । सुरुमा प्रतिनीधि सभाको मत गणना सुरु गरिएको छ । केहि बेरमा प्रदेश सभा तर्फको मत गणना पनि सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुराँस गाउँपालिका–५ को कृष्णमावी सानाकाँडा (क) केन्द्रमा खसेको ३८० र गुराँस गाउँपालिका–४ को बुद्ध आवी सेरी दोवाटोको (क) केन्द्रमा खसेको ४४४ सहित ८२४ मत गणना सुरु भएको छ । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता संख्या ७८ हजार २ सय ८२ मतदाता थिए । आइतवार भएको मतदानमा ४२ हजार ९ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

यो क्षेत्रमा प्रतिनीधि सभाका लागि नेकपा एमालेका रविन्द्रराज शर्मा, सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाका कुन्ति कुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्ग, नेपाली काँग्रेस (बिपी) का भूपालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र स्वतन्त्रहरु गोपाल नेपाली र निरखबहादुर थापा प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा नेकपा एमालेका रविन्द्रराज शर्मा, सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाका कुन्ति कुमारी शाहीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ को मत गणना भने सुरु हुन सकेको छैन् । निर्वाचन अधिकृतको कार्यालय दुल्लुका सहायक निर्वाचन अधिकृत तिलक बिकका अनुसार अहिले दिउँस १ बजे सर्वदलिय बैठक बस्ने र बैठकले मत गणना गर्ने समय तोक्ने छ । दैलेखको प्रतिनीधि सभा निर्वाचन क्षेत्रे नं. २ मा कुल मतदाता ८० हजार ६ सय ७६ मतदाता छन् । आइतवार भएको मतदानमा ४७ हजार ६ सय १८ मत खसेको बताईएको छ ।

प्रतिक्रिया