दैलेख–१, प्रदेश सभा (क) मा काँग्रेसका खत्री विजयी

दैलेख–१, प्रदेश सभा (क) मा काँग्रेसका खत्री विजयी


दैलेख : दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा नेपाली कांग्रेसका पुर्ण बहादुर खत्री विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मत गणनाको अन्तिम परिणाम अनुसार खत्री ९ हजार ४ सय ६४ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा रेग्मीले नेपाली काँग्रेसका कृष्णकुमार बिसीलाई हराएका थिए । रेग्मी १० हजार ३ सय ६१ मतसहित निर्वाचित हुँदा काँग्रेसका बिसीले ८ हजार ७ सय ६५ मत पाएका थिए । २०७४ मा नेकपा माओवादी केन्द्रबाट बाम गठबन्धनको उम्मेदवार बनेर विजयी भएका रेग्मीले यस पटक हार बेहोर्नु परेको हो ।

प्रदेश सभामा निर्वाचित कांग्रेसका पुर्ण बहादुर खत्री पहिलो पटक निर्वाचनमा उत्रिएका थिए । पार्टीको विभिन्न पदमा रहेर काम गरेका र थुप्रै सामाजिक संघ संस्थाहरुमा आवद्ध भएका खत्री नेपाल विद्यार्थी संघ दैलेखका संस्थापक अध्यक्ष हुन् ।

२०४२ देखि २०४६ सम्म नेपाली कांग्रेस दैलेखको सल्लाहकार रहेका खत्री ९ औं महाधिवेशनपछि सहसचिवको कार्यभार सम्हालेका थिए । काँग्रेसको १३ औं महाधिवेशनमा कोषाध्यक्ष बनेका खत्री १४ औं महाधिवेशनमा सदस्यमा निर्वाचित भएका छन् । नेपाल परिवार नियोजन संघ दैलेखको दुई कार्यकाल सभापति रहेको खत्री नेपाल रेडक्रस सोसाइटीको दुई कार्यकाल उपसभापति थिए । उनलाई गठबन्धनको साथ थियो ।

यस्तै नेपाल मजदुर किसान पाटीका जगतबहादुर वलीले ५ सय १५, राप्रपाका हृदयराज शाहीले एक हजार ७९ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत प्राप्त गरेका छन् । यो प्रदेश सभामा १९ हजार ९ सय ९८ मत खसेको थियो । कुल मत मध्ये ६ सय ७० म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया