जीवनस्तर उकास्न बाख्रा सहयोग

जीवनस्तर उकास्न बाख्रा सहयोग

कर्णाली किनारसँग जोडिएको बस्तीका ४८ कृषकलाई पाँच वटाका दरले दुई सय ४० वटा बाख्रा र चार जना कृषकलाई एक/एक वटाका दरले चारवटा बोयर बोका सहयोग गरिएको छ ।

अछाम (तुर्माखाँद) : अछामको तुर्माखाँद गाउँपालिका–६ कुनीगडाकी जोधरादेवी कामीको ९ जनाको परिवार छ । आम्दनीका स्रोत नहुँदा उनको परिवारलाई वर्षभरी गुजारा चलाउन हम्मे हम्मे पर्छ । उनको परिवार भारतको मजदुरीमै निर्भर हुनुपर्ने बाध्यता छ । अब भने जोधरादेवीलाई व्यवसायिक बाख्रा पालन गरेर परिवारको गुजारा चलाउने हिम्मत पलाएको छ । सहयोगस्वरुप पाँच वटा बाख्रा पाएपछि व्यवसायिक बाख्रा पालन व्यवसायबाट गुजारा चलाउन सकिन्छ भन्ने हिम्मत पलाएको उनको भनाई छ ।

‘आम्दानीका अरु स्रोतहरु थिएनन्, मजदुरी गरेर घरपरिवारको गर्जो टार्दै आएका थियौँ, पहिलो पटक पाँच वटा बाख्रा सहयोग पाएकी छु,’ यसैलाई व्यवसायिक बनाउँछु, अब यसैले घरको गुजाला चलाउन सकिन्छ भन्ने हिम्मत पलाएको छ ।’ उनले बाख्राको खोर बनाउनका लागि २० हजार रुपैयाँ सहयोग समेत पाएकी छन् । उनि गाउँपालिकामा दर्ता भएको कुनीगडा बाख्रा पालन कृषक समुहमा आबद्ध छिन् । जोधरादेवीसहित कृषक समुहमा आबद्ध भएका गाउँका अन्य १२ घरपरिवारले पाँच/पाँच वटा बाख्रा सहयोग पाएका छन् । समुहका एक जनाले बोयर जातको बोका सहयोग पाएका छन् ।

तुर्माखाँद गाउँपालिका–३ की खिन्ता सुनारले पनि बाख्रा सहयोग पाएकी छन् । ‘जीविकोपार्जनका लागि केहि व्यवसाय सुरु गर्नका लागि पैसा थिएन्,’ बाख्रा सहयोग पाएकी छु,’ यी बाख्रा व्यवसायिक रुपमा पालन गर्छु, बाख्रा बेचेर घरको आर्थिक अवस्था सुधार्छु, घरको गर्जोपनि टर्छ,’ उनले भनिन् । आफुहरुजस्ता गरिब महिलाहरुका लागि बाख्रा पालन व्यवसाय बरदान सावित हुने उनले बताइन् । जोधरादेवी र खिन्ताजस्तै तुर्माखाँद गाउँपालिका वडा नम्बर १ सुजेडा, २ लापाचौर, ३ भालपाटा र ६ कुनीगडा बाख्रा पालन कृषक समुहका ४८ घरपरिवार कृषकले प्रतिपरिवार पाँच वटाका दरले बाख्रा सहयोग पाएका छन् । एक वडाका १२ जनाले बाख्रा र समुहका आबद्ध भएका हरेक वडाका एक जनाले बोयर जातको बोका सहयोग पाएका हुन् ।

डिसिए नेपालको सहयोगमा सोसेक नेपालले सञ्चालन गरेको गिफ्ट परियोजनाले बाख्रा सहयोग गरेको हो । किसानहरुलाई बाख्रा पालन गर्न खोर निर्माणका लागि तुर्माखाँद गाउँपालिकाले १५ हजार र परियोजनाले पाँच हजार गरि २० हजार रुपैयाँ उपलब्ध गराउने संस्थाका उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले बताए । समुहमा आबद्ध भएका आयस्रोत कम भएका, एकल महिला, दलित र जनजातीलाई प्राथमिकतामा राखेर जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले बाख्रा दिईएको शर्माको भनाई छ । कृषकहरुले सहयोग पाएको बाख्राको बिमा गरिएको छ ।

सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले गिफ्ट परियोजना अन्तरगर्त अहिले बाख्रा प्राप्त गरेका हरेक कृषकले एक वर्षपछि समुहकै अर्को सदस्यलाई तीन वटा बाख्रा दिने गरि कार्यक्रम अघि सारिएको बताए । यो कार्यक्रमले समुहका सबै कृषकलाई व्यवसायिक हुन सहयोग पुग्ने अपेक्षा राखेको उनको भनाई छ । थापाले कर्णाली किनारसँग जोडिएका गाउँका कृषकहरुलाई व्यवसायिक बाख्रापालन व्यवसायमा जोडेर विपन्न परिवारको जीवनस्तर उकास्ने प्रयास थालिएको बताए ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले स्थानीय सरकार नागरिकहरुको जीवनस्तर उकास्न प्रयत्नशिल रहेको बताए । उनले यो कार्यक्रमले गरिबीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर माथी उकास्न महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । परियोजनासँग साझेदारी गरेर बाख्रा पालनको लागि खोर निर्माण गर्न स्थानीय सरकारले प्रतिकृषक १५ हजार रुपैयाँ दिने उनले बताए । ‘कृषहरुले सहयोग पाएका बाख्राहरुबाट दुरुपयोग नगरेर आम्दानीको स्रोत बनाउन सक्नुपर्छ, गाउँपालिका थप सहयोग गर्न तयार छ,’ अध्यक्ष बिसीले भने ।

प्रतिक्रिया