दुल्लु नगरपालिका–४ नगरकै पहिलो बालश्रम मुक्त वडा घोषणा

दुल्लु नगरपालिका–४ नगरकै पहिलो बालश्रम मुक्त वडा घोषणा


दैलेख : दुल्लु नगरपालिका–४ बालश्रम मुक्त वडा बनेको छ । बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ ले तोकेको अधिकाँश सूचक पुरा गरेपछि वडा बालश्रम मुक्त बनेको हो । कार्यविधिले बालश्रममुक्त घोषणाका लागि सातवटा सूचक तय गरेको छ । न्यूनतम् सूचकहरु पुरा भएपछि बालश्रम मुक्त घोषणा गर्न सकिने व्यवस्था अनुसार कार्यविधिले तोकेकामध्ये अधिकाँश सूचकहरु पुरा गरेपछि नगरपालिकाले उक्त वडालाई पहिलो बालश्रममुक्त वडा घोषणा गरेको नगरको बाल कल्याण अधिकारी उमाकुमारी उपाध्यायले बताइन् । घरदैलो र सर्वेक्षणबाट तथ्यांक संकलन सकेर बालश्रममुक्त वडा घोषणा गरिएको उपाध्यायको भनाई छ । बालश्रममुक्त घोषणालाई कार्यान्वयनका लागि संयन्त्रहरु निर्माण गरिएको छ । नगरले आगामी दुई वर्षभित्र नगरलाई नै बालश्रम मुक्त बनाउने योजनाअघि सारेको उपाध्यायको भनाई छ ।

बालमैत्री वडामा फेरी बालश्रमिक भेटिएमा उनिहरुको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले बताए । त्यस्ता बालबालिकाको गाँस, बास र शिक्षाको व्यवस्था नगरले गर्ने नेपाल बताउँछन् । नगरपालिकाले छात्राबास निर्माणको काम समेत थालेको उनको भनाई छ । ‘आफ्नो घरमा श्रम सिकाउनु बाल श्रम होइन, तर अर्काको घरमा बसेर होस् या होटल, उद्योग, यातायातका साधन, निर्माणका काममा बालबालिकालाई श्रमिकको रुपमा प्रयोग गर्न पाईदैन्,’ नेपालले भने । नगरकी उपमेयर विना कार्कीले बालबालिकालाई मदिरा र सुर्तिजन्य पदार्थ किनबेच गर्ने प्रवृतिलाई रोक्नुपर्ने बताउँछिन् ।

वडालाई बालश्रम मुक्त घोषणा कार्यान्वयनका लागि अभिभावक, जनप्रतिनीधिहरु, होटल, यातायात तथा, निर्माण व्यवसायीले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । बालबालिकाको उमेर र क्षमता भन्दा बढि काम नलगाउने, नियमित निगरानी राख्ने, घरको वातावरण सहज र शान्त बनाउने लगाएतका प्रतिबद्धता अभिभावकहरुले गरेका छन् । आवश्यक सबै शैक्षिक सामग्री सहित बालबालिकालाई नियमित विद्यालय पठाउने प्रतिबद्धतामा अभिभावकले हस्ताक्षर गरेका छन् ।

स्थानीय सरकारका जनप्रतिनीधिहरुले बालश्रमविरुद्ध अभिभावक, होटल, यातायात र निर्माण व्यवयसायीहरुलाई अभिमुखिकरण गर्ने, जोखिममा रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने, बाल श्रमिकहरुको पहिचान गर्ने लगाएतका प्रतिबद्धता जनाएका छन् । जनप्रतिनीधिले गरेको प्रतिबद्धतामा बालश्रमिक बालबालिकाको घरपरिवारलाई वैकल्पिक आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख छ । होटल, यातायात तथा, निर्माण व्यवसायीहरुले १४ वर्षमूनिका बालबालिकालाई कुनैपनि निकृष्ट प्रकारको श्रममा नलगाउने, ललाई फकाई वा झुक्याएर बालबालिकाको इच्छाविपरित श्रमिकको रुपमा काममा नलगाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धताहरु उल्लंघन गर्ने जो कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउने नगरपालिकाले जनाएको छ । बालश्रममुक्त घोषणा गरिएपछि बालबालिकाहरु खुसी भएका छन् । बालक विश्वबन्धु खनालले अबदेखि वडाका बालबालिकाहरु बालश्रमिकको रुपमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । ‘धेरै बालबालिकाहरु श्रमिकको रुपमा काम गर्दै हिड्न बाध्य थिएँ,’ बालिका आकृति खड्काले भनिन् ‘बाल श्रमिक गैरकानूनी हो भन्ने विषय अभिभावक र सबै बालबालिकाले बुझ्नुभएको छ ।’

प्रतिक्रिया