पुर्ख्यौली पेसा ऊनका कपडा व्यवसाय सङ्कटमा

पुर्ख्यौली पेसा ऊनका कपडा व्यवसाय सङ्कटमा

जुम्ला : जुम्लामा पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बक्खु, राडिपाखी, लगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । तर अहिले आधुनिक कपडाको उत्पादन र प्रयोग बढ्दै गएपछि पुर्ख्यौली पेसा सङ्कटमा परेको हो ।

त्यसैगरी युवापुस्तामा राडीपाखीप्रतिको अरुचीले गर्दा पनि पेसा नै सङ्कटमा परेको बूढापाका बताउँछन् । भेडा बाख्रापालन व्यवसाय बिस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थाले पछि यसको कमी भएको हो । ऊनको कपडा परम्परागत तरिकाले बुनिँदा र आधुनिकतातर्फ यसलाई लिन नसकिनु यो व्यवसाय नफस्टाउनुको कारण भएको स्थानीय कृष्ण रोकायाले बताए ।

उनका अनुसार पुरानै शैलीमा राडीपाखी बुन्नका लागि प्रविधिको अभाव तथा धेरै मेहनत गर्नुपर्ने भएकाले ऊनको कपडा बनाउन महिनौं समय लाग्ने गरेको छ । राडिपाखीको मूल्य पनि महँगो हुँदै गएकाले प्रयोगमा कमी आएको उनले बताए । राडीपाखीबाट बनेका उत्पादन अहिले न्यून मात्रामा वृद्धवृद्धाले मात्र बुन्ने र उपभोग गर्नेको संख्या मात्र भेटिन्छ । पुरानो कपडाका रुपमा पहिचान बनेको राडीपाखी उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय बासिन्दा सरकारी निकायसँग माग गर्न थालेका छन् ।

स्थानीय तह कार्यान्वयनमा आएपछि उद्योगले प्रोत्साहन पाउनेमा आशावादी रहेको भए पनि स्थानीय तहले राडीपाखी व्यवसायप्रति ध्यान नदिएको स्थानीयको खाम्बा रावतको आरोप छ । तर पछिल्लो पुस्तामाझ यो पेसा झन्झटिलो र समयको लगानी बढी हुने अनि मूल्य कम पाइनुले यो पेशा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

जन्मदेखि मृत्यु संस्कारसम्म चोखो र अनिवार्य मानिने राडीपाखी स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । मेला पर्व, विवाह, बाथ रोगीका लागि उत्तम मानिएको राडीपाखी ३ हजार देखि १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । राडी पाखी व्यवसायलाई प्रवर्द्धन गर्न जुम्लाका सबै स्थानीय तहले ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया