पहिरो प्रभावित ७५ परिवारलाई जनहि १४ हजार सहयोग

पहिरो प्रभावित ७५ परिवारलाई जनहि १४ हजार सहयोग

अछाम (तुर्माखाँद) : अछामको तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँका पहिरो पीडितले जनहि १४ हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन् । नाडास्थित काँडाचौर गाउँका गत भदौ ३१ गते पहिरो जाँदा तीन घरका नौ जनाले ज्यान गुमाएका थिए । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीका अनुसार काँडाचौर गाउँसहित गाउँपालिकाभरका ७५ जना पहिरो प्रभावितहरुलाई जनहि १४ हजार रुपैयाँका दरले रकम सहयोग गरिएको हो । ‘बाढी पहिरोका कारण काँडाचौर गाउँका तीन घरपरिवारका नौ जनाले ज्यान गुमाउनुभयो,’ अध्यक्ष बिसीले भने ‘गाउँपालिकाभर अन्य मानविय क्षती नभएपनि भौतिक क्षतीहरु धेरै भएका छन् ।’

यसअघि गाउँपालिकाले मृतक परिवारलाई जनहि ५० हजार र किरिया खर्चस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष बिसीले बताए । अहिले विभिन्न प्रक्रिया सकेर डिसिए नेपालको सहयोगमा सोसेक नेपालले जनहि १४ हजार रुपैयाँ रकम वितरण गरेको अध्यक्ष बिसीले बताए । उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाभर पहिरो प्रभावित ७५ घरपरिवारलाई जनहि १४ हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरिएको हो ।

मंगलवार अछामको तुर्माखाँद गाउँपालिकामा आयोजित एक कार्यक्रममा सोसेक नेपालका उपाध्यक्ष कवि रिजारले गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीलाई आइएमई नम्बरसहित सहयोग रकम प्राप्त गर्ने घरपरिवारको नामावली हस्तान्तरण गरेका छन् । सोसेक नेपालको केन्द्रीय कार्यालय रहेको दैलेखबाट बाढी पहिरो प्रभावित सबै परिवारलाई आइएमइमार्फत रकम उपलब्ध गराईएको सोसेक नेपालका उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले जानकारी दिए ।

पहिरो प्रभावितहरुलाई थोरै भएपनि जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले राहतस्वरुप रकम सहयोग गरिएको संस्थाका उपाध्यक्ष कवि रिजालले बताए । पहिरो प्रभावित अछामको तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँकी स्थानीय मनसरादेवि शाहीले राहत सहयोगले पहिरोले दिएको पीडामा मल्हम लागेको बताइन् ।

प्रतिक्रिया