लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति

सुर्खेत : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले तिब्र विकास चाहेको बताएकी छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनताले तिब्र विकास चाहेको बताइन् । जनताले तिब्र विकाससँगै जीवनस्तरमा सुधार खोजेको राष्ट्रपति भण्डारीको भनाई छ । यसमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । उनले जनताको चाहाना र देशको विद्यमान अवस्थालाई पत्रकारहरुले यथोचित ध्यान दिन आग्रह गरेकी छन् ।
अर्को प्रसंगमा राष्ट्रपति भण्डारीले संविधानमा खोट लगाउने कुनै ठाउँ नभएको बताउइन् । ‘संविधानमा खोट लगाउने कुनै ठाउँ छैन्, तर, देशको प्रणालीले राम्रोसँग काम गर्न सकेन भने जति सुकै राम्रो व्यवस्था र संविधान भएपनि पूर्ण हुन सक्दैन्,’ उनले भनिन् ।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् । निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्नेदेखि नेपालमा विभिन्न संकटहरु आउँदा पत्रकारहरुले अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पछिल्लोसमय प्रविधिको विकासले अबसरमात्रै नभई चुनौती थपेको बताइन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताएकी छन् । प्रविधिको विकासले ल्याएको परिर्वतनलाई नराम्रो भन्न नमिल्ने उनको भनाई छ ।
सूचनाको हक लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै राष्ट्रपति भण्डारीले राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा ध्यान दिन आग्रह गरिन् । पत्रकार महासंघ नागरिक समाजको शसक्त अगुवा संस्था रहेको उल्लेख गरिन् । महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास आफूले लिएको उनको भनाई छ । महासंघले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले पत्रकारहरुलाई आवाज विहिनहरुको आवाज बन्न आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गरेकी छन् ।
महासंघको साधारणसभा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाही, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडा लगायत नेताहरूले शुभकामना दिएका थिए ।
महासंघका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए । अर्का पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको धारणा राखेका छन् । नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसस्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट करिब ७ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया