समाज सुधारको अभ्यासको सन्देश

समाज सुधारको अभ्यासको सन्देश

जहाँ विवाहवारी वा मृत्यू संस्कारमा मदिरा प्रयोगमा रोक लगाईएको छ ।

दैलेख : सदरमुकाम नजिकैको जाहारकोट गाउँ उहिलेदेखि प्रशासनिक पकड जमाएको ठाउँ हो, अहिले नारायण नगरपालिका–२ जाहारेकोट । प्रशासनिक निकायहरुमा पहुँच भएका कारण यो गाउँका क्षेत्रीहरु काजी कहलिएका छन् । पण्डितहरु पनि जिल्लाका सबै बाहुन समुदायका अगुवा हुन् ।

अघिल्लो कार्यकाल जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्ला चलाए अनि नेकपा एमालेका जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा दैलेख क्षेत्र नं. १ को प्रतिनिधिसभाका निवर्तमान साँसद । उहिले बडाहाकिम अनि अहिले गणतान्त्रिक व्यवस्थामा पनि सत्ता काजी र पण्डितकै हातमा छ भन्ने उदाहरण काफी हुन्छ ।

क्षेत्री र बाहुन समुदायको बोलवाला यो गाउँका दलित युवाहरु भने प्राय भारतमा गएर चौकीदारी, मजदूरी र राम्रो काम पाउनेहरुले होटलमा कूकको काम गर्छन् । राणा शासन र पञ्चायत छँदा दलितहरुले हलिगोठालाका काम गर्दथे अहिले व्यवस्था बदलिएपछि दलितहरुको पेशा पनि बदलिएको छ, भारतमा मजदूरी ।

यही गाउँका सन्तबहादुर सुनार नेपाल सरकारको सहसचिव अर्थात राजपत्रांकित प्रथम श्रेणीको अधिकृत छन्, उनी भन्दा तलतल पदका जागिरे पनि नभएका होइनन् तर अलिकति कमाएकाहरु नेपालगञ्ज र सुर्खेततिर बस्ती सरिसकेका छन् ।

कमाएकाहरु सबैजसो सुविधायुक्त सहरतिर पसे पनि केही थोरै युवाहरु समाज परिवर्तनका लागि दलितहरुको जीवनस्तर सुधार कसरी गर्न सकिएका भनेर दिनरात खट्न सुरु गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखमा लेखा अधिकृत दीपक नेपाली र समाजसेवामा जुटेका बखत नेपाली लगायतका युवाहरु समाज परिवर्तनका लागि दिलचस्वीका साथ जुटेका छन् ।

जाहारकोटका क्षेत्री र बाहुनहरु जहिले पनि सत्तामा रहने भए पनि दलितहरुका दुख उस्तै किन भएको ? भन्ने कुरा घोत्लेर खोजीखनी गर्न थालेपछि थोरै कमाई धेरै खर्च मूल कारण रहेको बिश्लेषण गरेर दलितहरुलाई उपार्जनमा लगाउन यी दुई जनाको अगुवाईमा सबै युवा परिचालन रणनीति बनेको छ ।

दलितहरुको जीजनस्तर उठाउन बालबालिकाहरुका लागि शिक्षामा लगानी, दलित युवाहरुलाई उपार्जनका काममा लगाउने र समुदायका फजुल खर्च कटौती गर्ने रणनीति अहिले कार्यान्वयनमा ल्याइएको छ ।

कमाई कम तर खर्च बढी हुने प्रमुख कारण मदिराको अत्याधिक सेवन रोकथाम गर्न जाहारकोटका दलित समुदायको विवाहवारी वा मृत्यू संस्कारमा रक्सी प्रयोग गर्न रोक लगाइएको छ । जाहारकोटमा माइती भएकी चेलीबेटीले विवाहवारी वा मृत्यू संस्कारमा रक्सी ल्याएर आए युवाहरुले पोखेर फाल्ने गरेका छन् ।

जाहारकोटका दलित समुदायको विवाहवारी वा मृत्यू संस्कारमा रक्सी लिए पोख्न थालेको सिकाई छिमेकी गाउँमा पनि अभ्यास गर्न थालिएको छ । सुरुमा रोक्न खोज्दा धेरै बिरोध खेप्न परेको थियो, निरन्तर प्रयास गरेपछि सामुदायिक काममा रक्सी रोक्न सकिएकोमा आफूलाई सन्तुष्टी लागेको शिल्पी समाजका संयोजक समेत रहेका बखत नेपालीेले सुनाए ।

आर्थिक मितव्ययिताको अभ्याससंगै बालबालिकाको शिक्षामा ध्यान दिन सके भावी सन्ततीहरुको भविष्य सुधार्न सकिने दूरदर्शिता लिएर तर्तालबाडाबाट विद्यालय पढ्ने बालबालिकाहरुलाई हरेक दिन दिउँसो विद्यालयमा पढाइएका विषयमा साँझ २ घण्टा सहजीकरण कक्षा सञ्चालन गर्न थालिएको छ ।

तीन वर्षदेखि निरन्तरता दिइएको सहजीकरण कक्षाका लागि क्याम्पस पढ्दै गरेका युवाहरुले समय दिंदै आएका छन् भने लेखा अधिकृत दीपक नेपालीको घर तर्तालबाडा टोलभरीका बालबालिकाहरुलाई हरेक दिन साँझ भेला हुने स्थान बनेको छ ।

यो सहजीकरण कक्षामा आइतवारदेखि शुक्रवारसम्म कक्षामै पढेको विषय छलफल हुन्छ, शनिवार विहान खाना खाएपछि बालबालिका अतिरिक्त क्रियाकलापमा जुट्छन् । ती बालबालिकाहरुको विभिन्न पाटापक्षलाई मुल्यांकन गरेर पुरस्कार दिइन्छ ।

बालबालिकाहरुलाई प्रोत्साहित गर्न बेलाबेला विशिष्ट व्यक्तिलाई बोलाएर पुरस्कार वितरण गर्ने विशिष्ट व्यक्तिको सफलता निम्ति गरेका संघर्ष र परिश्रमबारे सुनाइन्छ ।

युवाहरुले मदिरा रोकथाम प्रयास गरेका र विद्यालय जाने बालबालिकालाई उत्प्रेरणा गराउने सहजीकरण कक्षा चलेको छ भन्ने पहिले नै सुनेको आधारमा समाजमा लब्धप्रतिष्ठित व्यक्ति त्यहाँ पुगेर बालबालिकालाई प्रोत्साहित गर्छन् ।

बालबालिकालाई यसरी प्रोत्साहित गर्ने पवित्र कार्य थालेकोमा समाज रुपान्तर अभियानका जुटेका युवाहरुलाई त्यहाँ पुग्नेहरुले धन्यवाद दिन्छन् । त्यस्तो भेटघाटले विद्यालय र सहजीकरण कक्षाले सघाए जसरी घरमा आमाले पनि बालबालिकालाई स्वतन्त्र रुपमा सिक्न सक्ने बनाएको छ ।

बालबालिका प्रोत्साहन गर्न आयोजित शनिवार शरीय कार्यक्रममा यो हप्तामा पढाई तर्फ, अनुशानमा र अरु अतिरिक्त क्रियाकलापमा उत्कृष्ठट हुनेलाई हप्तैपिच्छे पुस्कार दिइन्छ । विद्यालयमा पढेको कुरा सहजीकरण कक्षामा थप छलफल गर्ने र जीवन उपयोगी बनाउने विषयमा छलफल हुन्छ ।

सहजीकरण कक्षाले बालबालिकालाई शिक्षा आर्जनमा प्रेरित गर्न, सामाजिक भावनाको विकास र परस्पर पारिवारिक सदाचार सिकाउन समेत सहज भएको जाहारकोटकी एक गृहिणी सारदा नेपालीले भनाई छ ।

जाहारेकोटमा सामाजिक कामकै प्रभाव अहिले यो समुदायका अगुवा बखत नेपाली जिल्ला सदरमुकाम नारायण नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यही टोलबाट लक्ष्मीकुमार नेपाली नारायण नगरपालिका–२ का खुला वडासदस्य जितेका छन् । दलित महिला सदस्यमा रमा सुनार दोहो¥याएर वडा सदस्य जितेकी छन् ।

समुदायका बालबालिकालाई सकारात्मक शिक्षा दिन सुरुवात गरिएको सहजीकरण कक्षाले बालबालिकालाई त सहयोग पु¥यायो, समुदायमा युवाहरुलाई मदिराको कुलत र दुव्र्यसनी रोक्न गरेकै कामले समुदायका अगुवाहरुलाई राजनीतिमा समेत स्थापित गरेको छ ।

प्रतिक्रिया