कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

सुर्खेत : कर्णालीमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य नेकपा एमालेका विनोदकुमार शाहले शपथ गराएका हुन् ।

नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउनुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।

ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई शपथ खुवाएका हुन् ।  ठाँटीकाँध गाउँपालिका–१ कोसेडीका ६६ वर्षिय शाह प्रतिनिधि सभा निर्वाचन क्षेत्र दैलेख–२, प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश सभा भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक समेत लगाएका थिए ।

शपथ ग्रहण कार्यक्रमका लागि सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले अनुरोध गरेको थियो ।

कर्णाली प्रदेश सभा ४० सदस्यीय छ ।  कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक/एक र एक जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् ।  जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

प्रतिक्रिया