दुल्लु अस्पतालमा अप्रेशन थ्रियटर स्थापना

दुल्लु अस्पतालमा अप्रेशन थ्रियटर स्थापना

दैलेख : जिल्लाको दुल्लु नगरपालिकास्थित दुल्लु अस्पतालमा अप्रेशन थ्रियटर स्थापना गरि सञ्चालनमा आएको छ । नगरपालिकाले सञ्चालन गरिरहेको अस्पतालमा थ्रियटर स्थापना गरि सञ्चालनमा ल्याईएको हो । प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाट स्तरोन्नती भएको उक्त अस्पतालमा स्थापित थ्रियटर सोमवार औपचारिक रुपमा उद्घाटन गरिएको छ । प्रतिनीधिसभा सदस्य सीताकुमारी राना, कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारी लगाएतको उपस्थितीमा थ्रियटर उद्घाटन गरिएको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. राजन नारायण नकर्मीले अब अस्पतालबाट शल्यक्रियामार्फत प्रसुतीदेखि सामान्य खालका सबै शल्यक्रिया सेवा दिने सकिने बताए । ‘दुल्लु नगरपालिका, निक साइमण्ड इन्सिच्युट लगाएतका निकायको सहयोगमा थ्रियटर सञ्चालनमा ल्याउन सफल भएका हौँ,’ डा. नकर्मीले भने ‘यहाँ प्रसुती सेवादेखि पाइल्स, हाइड्रोसिल लगाएत सामान्य शल्यक्रियाको सेवा दिन सक्षम भएका छौ ।’ अस्पतालमा पूर्णरुपमा जटिल प्रकारका शल्यक्रिया सेवा प्रदान गर्न सकिने अवस्था नरहेको डा. नकर्मीको भनाई छ ।

दुल्लु नगरका मेयर भरतप्रसाद रिजालले अप्रेशन थ्रियटर स्थापनासँगै दैलेखसहित अछाम र कालिकोटका नागरिकले सेवा पाउने बताए । स्रोतसाधनको कमी र आर्थिक व्यवस्थापनमा कठिनाई रहेपनि हाल उपलब्ध जनशक्ति र विभिन्न निकायको सहयोगमा अस्पतालबाट गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिएको मेयर रिजालको दाबी छ । ‘नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा थुप्रै कठिनाईहरु छन् यद्धपी हामीले गुणस्तरिय स्वास्थ्य सेवा दिईरहेका छौँ,’ उनले भने । उनले प्रदेश सरकारसँग अस्पताल सञ्चालमा सहयोग माग गरिरहेको बताए । ‘अहिलेसम्म संघ र प्रदेश सरकारबाट सहयोग पाएका छैनौ, हामीले निरन्तर सहयोग गर्न अनुरोध गरिरहेका छौँ, मेयर रिजालले भने ।

अप्रेशन थ्रियटर स्थापनासंगै अबदेखि कुनै पनि आमा र शिशुले अकालमै ज्यान गुमाउनेपर्ने कहालीलाग्दो अवस्थाकाे अन्त्य हुने प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले बताईन् । उनले पाइल्सजस्ता राेगहरूकाे उपचार सेवा घरदैलोकाे अस्पतालबाट पाउने बताईन् । अस्पताल सञ्चालनमा सहयाेगी हातहरूकाे खाँचो रहेकाे उनकाे भनाई छ ।

हाल १५ शैयाको दुल्लु अस्पताल वि.स. २०४० मा स्वास्थ्य चौकीको रुपमा स्थापना भएको थियो । स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रहुँदै २०७१ बाट अस्पतालको रुपमा स्तरोन्नतीको पहल थालिएको थियो । २०७४ बाट नगरपालिकाले सञ्चालन गर्ने गरि १५ शैयाको अस्पतालको रुपमा सञ्चालनमा ल्याईएको हो । हाल उक्त अस्पतालमा एकजना एमडिजीपि डाक्टर, तीन जना मेडिकल अफिसर, स्टाफनर्स र अनमी ११, एचए र अहेव ९, ल्याब टेक्निसियन तीन जनासहित ४५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा दुईवटा एम्बुलेन्स छन् । तर, एउटा एम्बलेन्स बिग्रीएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया