नारायण नगरको आफ्नै पाठ्यक्रम

नारायण नगरको आफ्नै पाठ्यक्रम

दैलेख : जिल्लाको नारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी पाठ्यक्रम निर्माण हो । नगरले आधारभुत तह १–८ लागि ‘हाम्रो नारायण नगरपालिका हाम्रो पहिचान’ शिर्षकको एक सय २८ घण्टे पाठ्यक्रम निर्माण गरेको हो । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा नारायण नगरले त्यसको अभ्यास गरेको हो ।

नगरपालिकाका मेयर लोमन शर्माले नगरको भूगोल, भाषा, संस्कृति, इतिहास, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरिएको बताए । विद्यार्थीहरुलाई नगर के हो ? नारायण नगरमा के छ ? भन्नेबारे बुझाउँदै जनशक्तिलाई नगरप्रति उत्तरदायी बनाइने मेयर शर्माको भनाई छ । पाठ्यक्रममा योग शिक्षालाई पनि समेटिएको उनको भनाई छ । पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गरिने मेयर शर्माले बताए । पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा–व्यवसाय लगायतका विषय समेटिएको छ ।

विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक जीवराज तिमिल्सेनाले   बताए । आधारभूत पाठ्यक्रममा नगरपालिकाको समग्र अवस्था विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने तिमिल्सेनाको भनाई छ । उनका अनुसार हाल पाठ्यक्रमको ४२ वटा किताब छपाई गरेर सबै विद्यालयमा पठाईएको छ ।

चालु शैक्षिक सत्रमा नै पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन र छपाइको काम सकेर नयाँ शैक्षिक सत्रबाट विद्यालयमा कार्यान्वयनमा लगिने नगरको शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए । ‘पाठ्यक्रम तयार भईसकेको छ, अब पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन कार्य सुरु हुन्छ,’ उनले भने ।

पाठ्यक्रमले तहगत सक्षमता समेत तय गरेको छ । कक्षा १–३ ले गाउँ, वडा र नगरको परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान लगाएतका सक्षमताहरु हासिल गर्ने पाठ्क्रममा उल्लेख छ । पाठ्यक्रममा कक्षा ४–५ ले नगरको नक्सांकन, अवस्था पहिचानसँगै जीवनपयोगी सिप लगाएतका सक्षमता हासिल गर्ने उल्लेख छ । कक्षा ६–८ ले नगरको इतिहासको जानकारी, नगरपालिका गठन, सेवा प्रवाह, स्थानीय पर्यटन र व्यापारको सम्भावना अध्ययन गर्न सक्ने सक्षमता हासिल गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया