राउटे : अस्तित्व मेटिने खतरा

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः शनिबार, पुस २३, २०७९     ::: 155 पटक पढिएको   |  

दैलेख : राउटे समुदायले नेपाललाई विश्वमा चिनाएको छ। नेपालको सांस्कृतिक विविधता झल्काउन पनि यो जातिको भूमिका महत्त्वपूर्ण मानिन्छ। राउटे दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बस्छन्। तर उनीहरू कहिले जंगलका छेउ त कहिले पहाडको खोंच तथा टाकुरा र नदी किनारमा बसाइँ सरिरहन्छन्। नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिने राउटे जाति दक्षिण एसियाकै एकमात्र फिरन्ते जाति हो।

आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन्। तर, यो समुदायको अस्तित्व नै संकटमा पुगेको छ। अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो। राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ। मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन्।

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए। उनको काठमाडौंसम्म पुर्‍याएर उपचार गरिएको थियो। तर, आगोले पोलिएको घाउ निको भएन। घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए। नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो। अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए। गत मंगलबार मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते छन्। कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका उनको शरीरको ३० प्रतिशत भाग जलेको छ।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन्, शिवराज शाही। बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए।  पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन्। त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन्। मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन्।

जाँड खानु राउटे समुदायको मौलिक विशेषता बनेको छ। उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्ने गर्दै आएका थिए। तर पछिल्ला वर्षमा भने आफूले बनाएको होइन, बजारमा पाइने कमसल गुणस्तरको मदिराका पारखी बनेका छन्। बालबालिकादेखि बूढापाकामा मदिरा सेवनको लत बढ्दै गएको छ। अत्यधिक मदिरा सेवनका कारण भीरबाट लडेर मृत्यु हुने क्रम बढेको छ। राउटेको अवस्थाबारे अध्ययन गरिरहेका डा. लालबहादुर पुनले बजारको कमसल गुणस्तरको मदिराको प्रयोग पूर्ण रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने बताए।

‘राउटेको मदिरा सेवनको लत बन्द गर्नुपर्छ’ उनी भन्छन्, ‘सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षा भत्ता नगद दिन बन्द गर्नुपर्छ।’ राउटेलाई भत्ताको साटो पोषणयुक्त आवश्यक खाद्यान्न उपलब्ध गराउनुपर्ने डा. पुन बताउँछन्। पुनले राउटे समुदायको अस्तित्व संरक्षण गर्नका लागि राउटे समुदायका नागरिकलाई मदिरा बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए। राउटे संरक्षण विशेष क्षेत्र घोषणा गरिनुपर्ने डा. पुनको भनाइ छ। ‘पहिले राउटेहरू गिठा भ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पुर्‍याएको देखिन्छ,’ डा. पुन भन्छन्।

सामाजिक सुरक्षा भत्ता रक्सीमै खर्च

संघीय सरकारले राउटे समुदायलाई आर्थिक वर्ष २०६५/०६६ देखि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैै आएको छ। हाल राउटे समुदायमा प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ भत्ता पाउँछन्। भत्ता बुझेको केही दिन उनीहरू मदिरा सेवनमा लठ्ठ हुन्छन्। राउटे समुदायका नागरिकहरूले भत्ताको रकम सबै रक्सी, सुर्ती र चुरोटमा खर्चिने गरेका छन्। राउटे महामुखिया महिनबहादुर शाहीले आफ्नो समुदाय रक्सीको कुतलमा फसेको बताउँछन्।

‘पहिले हामी आफैंले बनाएको जाँड खान्थ्यौं, अहिले त सबै बजारका रक्सी खान्छन्,’ उनले भने, ‘महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने समस्या छ, अहिले त बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसके।’ बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिनेबित्तिकै मर्न थालेको उनको भनाइ छ।

इन्सेकले ‘मानव अधिकारको दृष्टिमा राउटे समुदाय’ शीर्षकमा गरेको एक अध्ययनले राउटेलाई भत्ताको साटोमा आवश्यक खाद्यान्न र पोषणयुक्त खानेकुरा तथा कपडाको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। अध्ययनले राउटे समुदायको सहभागितामा राउटे नीति निर्माण गरेर शिक्षा, स्वास्थ्य, खाद्य र आवासका उचित व्यवस्था गर्नुपर्ने, सरसफाइ, पोषण र स्वास्थ्योपचारका बारेमा चेतना अभिवृद्धि गराउनुपर्ने सुझाव दिएको थियो। हाल राउटे दैलेखको नारायण नगरपालिका— ८ सालखर्कमा बसोबास गरिरहेका छन्। उनीहरूको जनसंख्या हाल १ सय ४३ छ।

बाल मृत्युदर ५० प्रतिशत बढी

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २७ जना शिशु जन्मिएका छन्। समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा २०७५ साउनदेखि २०७८ मंसिरसम्म २७ जना शिशु जन्मिएका छन्। त्यसयता समुदायमा शिशु जन्मिएका छैनन्।

पाँच वर्षको अवधिमा जन्मिएका २७ शिशुुमध्ये १६ जनाले ज्यान गुमाइसकेका छन्। यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ। परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताए। ‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन्। मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ।’ राउटेमा चेतनाको कमी हुँदा व्यापारीले राउटेको सोझोपनको फाइदा उठाइरहेका उनको बुझाइ छ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख लोकनाथ बाँस्तोलाले राउटे नागरिकको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै राउटेको भाषा, भेषभूषा, संस्कृतिको रक्षामा जोड दिनुपर्ने बाँस्तोलाको भनाइ छ। राउटेको जीवन रक्षाका लागि स्वास्थ्य, सरसफाइ, शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्नुपर्ने उनको धारणा छ। ‘राउटे नागरिकमा सरसफाइको अवस्था नाजुक छ, मदिराको प्रयोग अत्यधिक छ,’ बाँस्तोलाले भने, ‘सरसफाइका लागि राउटे नागरिकलाई सचेतना जरुरी छ, मदिराको प्रयोगलाई तत्काल रोक्नुपर्छ।’ मदिराको अत्यधिक प्रयोग रोक्न नसके राउटेको अस्तित्व नै सखाप हुन सक्ने खतरा बढेको उनले बताए।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले राउटे समुदायका व्यक्तिहरूलाई मदिरा बेचबिखन रोक्न आवश्यक कदम चाल्ने बताए। ‘राउटे समुदायका नागरिकको अवस्था नाजुक रहेको विषय जानकारीमा आएको छ। उनीहरूको अस्तित्व संरक्षणका लागि मदिराको प्रयोगलाई रोक्न आवश्यक कदम चाल्छौं,’ प्रमुख जिल्ला अधिकारी हमालले भने।



Leave a comment

Your email address will not be published.


*