घरभित्रै जलेको अवस्थामा पुरुषको शव फेला

          |   प्रकाशित मितिः आइतवार, पुस २४, २०७९     ::: 165 पटक पढिएको   |  

दैलेख : जिल्लाको भैरबी गाउँपालिका–४ रिङगाटेमा घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार अन्दाजी ४० वर्षिय नरेश बिक जलेको अवस्थामा फेला परेका हुन् । प्रहरी निरीक्षक कार्कीका अनुसार जलेको अवस्थामा फेला परेका बिकले नै आफ्नै घरमा आगो लगाएका हुन् ।

‘शनिवार साँझ साढे सात बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा नरेश बिकले आगो लगाएको भन्नेबारे स्थानीयले टेलिफोनमार्फत हामीलाई जानकारी गराएका थिए, राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा ल्याईएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।

आफ्नै घरमा आगो लगाएर फरार रहेका भनिएका नरेशको जलेको अवस्थामा आइतवार विहान शव फेला परेको हो । आइतवार विहान जलेको घरमा अन्य केहि क्षती भएको छ की भनेर खोजतलास गर्दा आधा शरिर घरको छानोले पुरिएको र जलेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक कार्कीले बताए ।

घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडाकुडासहित ३ लाखबराबर क्षती भएको उनले बताए ।



Leave a comment

Your email address will not be published.


*