डुङ्गेश्वरको अर्धवार्षिक सार्वजनिक सुनुवाई : आठ बुँदे प्रतिबद्धता घोषणा

डुङ्गेश्वरको अर्धवार्षिक सार्वजनिक सुनुवाई : आठ बुँदे प्रतिबद्धता घोषणा

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक अवधीमा प्रवाह गरिएको वार्षिक विकास कार्यक्रम तथा सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । गाउँपालिकाको आयोजना तथा जेम मिडिया ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षामा आठ बुँदे साँझा प्रतिबद्धता घोषणा गरिएको छ ।

प्रतिबद्धताहरुमा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरु समयमै सम्पन्न गर्न र बजेट फ्रिज हुन नदिन सक्दो प्रयास गर्ने र सोहि अनुसार गाउँपालिकाले योजनाहरु कार्यान्वयनमा कडाई गर्ने भएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण कृषकहरुको हितमा हुने गरि आवश्यक नीति, बजेट तथा कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाले प्रतिबद्धता जनाएको हो ।

गाउँपालिकाभित्र सञ्चालन हुन बाँकी क्रमागत योजनाहरु सम्पन्न गर्ने सम्बन्धमा गाउँपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरि चालु आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजनाहरु वडामै गएर सम्झौता गरिरहेको गाउँपालिकाले यो कार्यलाई निरन्तरता दिने भएको छ ।युवाहरुलाई रोजगारी सृजना गर्न गाउँपालिकाले आवश्यक कार्यक्रमहरु अघि सार्ने प्रतिबद्धता जनाएको छ । युवाहरुलाई रोजगारी सृजना गर्न गाउँपालिकाले विभिन्न विकास साझेदार संघ संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने जनाएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधिन अवस्थामा छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाले उक्त भवन निर्माणको कामलाई सम्पन्न गर्न पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्थापन लगाएतका काम गर्ने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकामा सूचना संचार प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरि प्रतिबद्धता घोषणा गरिएको छ । मुल्यबृद्धि नियन्त्रण, कालोबजारी रोक्न गाउँपालिकाले बजार अनुगमन निरन्तर र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता गाउँपालिकाले गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएको सवालमाथी जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सुझाव महत्वपूर्ण हुने बताए । स्थानीय सरकारलाई सफल बनाउने सवालमा आम जनताको साथ जरुरी रहेको अध्यक्ष केसीको भनाई छ । गत आर्थिक वर्षमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा घोषणा गरिएको साझा प्रतिबद्धतापत्रको अधिकाँश बुँदा कार्यान्वयन गरिएको बताउँदै अध्यक्ष केसीले अहिले गरिएको प्रतिबद्धता कार्यान्वयनमा विशेष ध्यान दिइने अध्यक्ष केसीको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष कलावति न्यौपानेले गाउँपालिकाले सबै नागरिकको जीवनस्तर सुधार गर्ने गरि आवश्यक कार्यक्रमहरु तर्जुमा गर्ने बताइन् । उनले सबै नागरिकलाई सहज सेवा प्रवाहमा गाउँपालिका प्रतिबद्ध रहेको उपाध्यक्ष न्यौपानेको भनाई छ ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर डिसिले गाउँपालिकालाई समृद्ध र सफल बनाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले गाउँपालिकालाई थप व्यवस्थित बनाउँदै सेवा प्रवाह र योजना कार्यान्वयनलाई व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

प्रमुख प्रशासकिय अधिकृत डिसिले गाउँपालिकामा हालै ई–हाजिरि व्यवस्थापन गरिएको र ई–हाजिरिलाई सबै विद्यालय र वडाहरुमा विस्तार गर्ने योजना लिएको बताए । उनले वडाबाट गरिने सिफारिसलाई सफ्टवेयर प्रणालीमा बनाउने तयारि थालिएको बताए । उनले गाउँपालिकाभित्र रहेका सबै व्यवसायलाई दर्ता गर्ने काम अघि बढाइने बताए । गाउँपालिकबाट प्रदान गरिने सेवा प्रवाहलाई अझै व्यवस्थित र प्रभावकारी बनाउदै पारदर्शिता र सुशासन प्रवद्र्धनमा प्रतिवद्ध रहने प्रमुख प्रशासकिय डिसिको भनाई छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाको विषयगत शाखाका शाखा प्रमुखहरुले अर्धवार्षिक अवधीमा सञ्चालित वार्षिक विकास कार्यक्रम, सेवा प्रवाह र प्रगति विवरण सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया