बाबुको आत्मदाहपछि सन्तानको बिचल्ली

बाबुको आत्मदाहपछि सन्तानको बिचल्ली

बाबुको आत्मदाहको बाटो रोजेको पाँचदिनअघि जेठी छोरीले आत्महत्या गरेकी थिइन् ।


बिचल्लीमा परेका मृतक नरेश बिकको पत्नि र चार सन्तान । तस्विर : बिरेन्द्र शाहीको फेसबुक पेजबाट ।

दैलेख : भैरवी गाउँपालिका–४ की १८ वर्षिया सुनिता बिकले पौष १९ गते झुन्डिएर आत्महत्या गरिन् । गाउँकै गौरी मावी बाँलेकाडामा कक्षा ७ मा अध्ययनरत बिकको आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सुनिताले आत्महत्या गरेको पाँचदिनपछि उनका बुबा ४० वर्षिय नरेश बिकले आत्मदाहको बाटो रोजेका छन् । उनि गत कात्तिक अन्तिम सातामात्रै रोजगारीको खोजीमा भारत गएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुने दिन पत्निलाई कुटपिट गरेका नरेश भोलिपल्टै भारत हिडेको थिए । छोरीले आत्महत्या गरेको खबर पाएपछि उनि दुई महिना नबित्दै शनिवार घर आईपुगेका थिए । घर फर्किएर उनले आफ्नै घरमा आगो लगाएर आत्मदाह गरेका हुन् । आइतवार विहानमात्रै घरभित्र जलेको अवस्थामा उनको शव फेला परेको थियो ।

शनिवार साँझ साढे सात बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा नरेश बिकले आगो लगाएको भन्नेबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा ल्याईएको थियो । शनिवार साँझ आफ्नै घरमा आगो लगाएर फरार रहेका भनिएका नरेशको जलेको अवस्थामा शव फेला परेको हो । आइतवार विहान जलेको घरमा अन्य केहि क्षती भएको छ की भनेर खोजतलास गर्दा आधा शरिर घरको छानोले पुरिएको र जलेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले शनिवार दिउँस ३ बजे घर आईपुगेका नरेशले पत्नि र छोराछोरीलाई घरबाट लखेटेर साँझ साँढे सात बजे आफ्नै घरमा आगो लगाएको देखाएको छ । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगी भन्छन् ‘गाउँमा उनका छिमेकीहरुसँग बुझ्दा मदिरा सेवन गरेका नरेशले पत्नि र छोराछोरीलाई लखेटेर आफु घरभित्र पसेर घरमा आगो लगाएको खुल्न आएको छ, घरमा आगो लगाउनुअघि उनले घर नजकै रुखमा राखिएको परालमा आगो लगाएका रहेछन् ।’ स्थानीयका अनुसार नरेशको मानसिक अवस्था ठिक नभएको पाईएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडाकुडासहित ३ लाख बराबर क्षती भएको प्रहरी निरीक्षक डाँगीले बताए ।

नरेशले आत्मदाहको बाटो रोजेपछि अहिले पत्निसहित चार सन्तान बिचल्लीमा परेका छन् । पत्नि ४० वर्षिया सोना कामीसहित चार सन्तान बिचल्लीमा परेको स्थानीय कृष्णा सुनारले बताइन् । ‘बस्ने घरमा श्रीमानले आगो लगाए, आफुले समेत ज्यान फाले, अहिले बस्नलाई घर छैन्, घरमा भएको अन्नपात, लत्ताकपडा, भाडाकुडा सबै आगोले सखाप पारेको छ, बालबालिकाहरु बिचल्लीमा परेका छन्,’ सुनारले भनिन् । छोरीहरु १४ वर्षिया मनिषा, १२ वर्षिया गिता, ९ बर्षिया पार्वती र छोरा पाँच वर्षिय महेश बिकसहित सोना आफन्तको आश्रयमा छन् । मनिषा र गिता कक्षा चार, पार्वती कक्षा दुई र महेश कक्षा एकमा अध्ययनरत छन् ।

भैरवी गाउँपालिका–४ का पूर्ववडाध्यक्ष बीरेन्द्रबहादुर शाहीले बाबूले आफ्नै घरमा आगो लगाएर आत्मदाहको बाटो रोजेपछि बालबालिकाहरु बिचल्लीमा परेको बताए । बिचल्लीमा परेका बालबालिकाहरुलाई सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । ‘रोग, भोक, अभाव र गरिबीले नै यस्ता खालका घटनाको कारक हुन्, जबसम्म गरिबी र अभाव समाजमा रहिरहन्छ तबसम्म यस्ताखाले हृदयबिदारक घट्ना दोहोरिरहन्छ, सरकारले बालबालिकाको जीवनरक्षाका लागि उचित सहयोग गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया