सामाजिक सुरक्षा कार्यक्रमलाई सरल बनाउने प्रतिबद्धता

सामाजिक सुरक्षा कार्यक्रमलाई सरल बनाउने प्रतिबद्धता

सुर्खेत :  सामाजिक सुरक्षा कार्यक्रमलाई सरल, सहज र प्रभावकारी बनाइने भएको छ । वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तह र गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा कार्यक्रमलाई सरल, सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरणको कार्यलाई थप प्रभावकारी जनाइएको हो । लक्षित समूहलाई सरकारले उपलब्ध गराउँदै आएको भत्ता वितरणमा विभिन्न समस्या देखिएको गुनासो बढेपछि सरकारले यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।

जेष्ठ नागरिकले सामाजिक सुरक्षा वापत मासिक रुपमा पाउँदै आएको वृद्धभत्ता लिन कठिन भएको, ग्रामीण क्षेत्रमा बैंकसम्म पुगेर वृद्ध, बालबालिका र अपागंता भएका व्यक्तिहरुलाई पनि भत्ता लिन समस्या हुने गरेको गुनासो सहभागीहरुले गरेका थिए ।

कतिपय स्थानीय तहका कर्मचारीले आफूहरुले रकम निकासा गरे पनि बैंकहरुले समयमै वितरण नगर्दा समस्या भइरहेको बताए । कार्यक्रमका सहभागिहरुले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नु परेको, नागरिकता प्राप्त गर्न कठीन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठीन भएको गुनासो गरे ।

कार्यक्रममा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्तालाई सहजरुपमा उपलब्ध गराउनका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । जन्मदर्ता र नागरिकता प्राप्तिमा देखिएका जटिलता हटाउनका लागि विभागले नीतिगत सुधारका लागि पहल गर्ने उनको भनाइ थियो ।

साथै उनले पेन्सन खाइरहेकाहरुले सामाजिक सुरक्षा भत्ता लिन नहुने भन्दै त्यस्तो भएको पाइएमा सरकार फिर्ता गराउने बताए । दोहोरो सुविधा लिन नहुने भन्दै उनले यसमा सचेत बन्न आग्रह गरे ।

यस्तै, कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले कर्णालीमा छोरीको बैंक खाता कार्याक्रमलाई थप प्रभावकारी बनाउने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक मेयर टिकाराम शर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकलाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउन स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए ।

स्थानीय तहले सक्रिय भएर काम गरे नागरिकलाई आँगनमै सेवा तथा सुविधा उपलब्ध गराउन सकिने उनीहरुको भनाइ थियो । पञ्जीकरण विभागका निर्देशक सागरमणि पाठकले विभागले हालसम्म गरेका काम र क्रियाकलापबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया