हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली

जुम्ला :  पुसको अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ ।

खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् ।लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको सिंजा गाउँपालिका–६ जुम्लाकी स्थानीय महिला बिस्नकली बुढाले बताइन् । उनले भनिन्, यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो ।

खेतीमा निर्भर किसानलाई मौसमले अन्याय गरेको उनको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ । सिंजा–५ जुम्ला शनिगाउँका गाउँका स्थानीय किसान दानबहादुर बुढाले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गरे ।

आकाशेपानीको भरमा खेती गर्ने यहाँका किसान हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा चिन्तित छन् । जिल्लाको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था नहुँदा आकाशे वर्षाको भरमा खेती हुँदै आएको छ  ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।जाडोमा हिउँ पर्नुको साटो तुषारो परिरहेको छ ।

यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताए । पुसको अन्तिमसम्म हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ उत्पादनमा समेत ह्रास आउन सक्ने उनले बताए ।

प्रतिक्रिया