कर्णाली जलाधार क्षेत्रमा २७० खानेपानी आयोजना निर्माण हुने

कर्णाली जलाधार क्षेत्रमा २७० खानेपानी आयोजना निर्माण हुने

कर्णाली जलाधार क्षेत्रमा पर्ने अछामको तुर्माखाँद गाउँपालिकाको तुल्ता गाउँ । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : कर्णाली नदि जलाधार क्षेत्रमा दुई सय ७० वटा खानेपानी आयोजना निर्माण तथा पुर्ननिर्माण हुने भएको छ । कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेश अन्तरगर्त कर्णाली जलाधार क्षेत्रमा पर्ने आठ जिल्लाका २९ स्थानीय तहमा ती आयोजना निर्माण तथा पुर्ननिर्माण हुने भएको हो । यूएसएआइडीको सहयोगमा सञ्चालित कर्णाली जल परियोजनाले खानेपानी आयोजनाहरु निर्माण गर्नेछ । रारा खत्याड, तिला कर्णाली, मध्यकर्णाली र तल्लो कर्णाली जलाधारक्षेत्रमा खानेपानी आयोजना निर्माण तथा पुर्ननिर्माण हुनेछ ।

परियोजनाले ५० वटा बहुउपयोगी खानेपानी आयोजना निर्माण गर्नेछ । यस्तै १० वटा नगरमा नगर सरसफाई योजना तथा नगर सरसफाई व्यवसायिक योजना निर्माण गरिने परियोजनाका अनुगमन मुल्यांकन तथा सञ्चार संयोजक चिरन्जिवी कोइरालाले बताए । ६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण तथा ६ वटा लेदो प्रशोधन केन्द्र सञ्चालन योजना निर्माण बनाइने कोइरालाले बताए । उनका अनुसार परियोजनाले २९ पालिकामा जलउपयोग गुरुयोजना निर्माण र दुई सय ७० वटा खानेपानी तथा सरसफाई उपभोक्ता समित गठन गरि क्षमता विकास गर्नेछ । परियोजना सञ्चालनपछि लिईएको प्रतिफल र नजिता अनुसारका खानेपानी आयोजना निर्माण तथा पुर्ननिर्माण लगाएतका कामहरु भईरहेको कोइरालाले बताए ।

उक्त परियोजना कर्णालीका पाँच, सुदुरपश्चिमका दुई र लुम्बिनीका एक जिल्लामा कार्यान्वयन भईरहेको छ । सुरक्षित खानेपानी तथा पानीको उत्पादनशिल उपयोगको लागी दिगो पहुँचमा बृद्धि गर्ने परियोजनाले लक्ष्य लिएको छ । दिसाजन्य लेदो व्यवस्थापनको माध्ययमबाट सरसफाईको पहुँच र प्रयोगमा अभिबृद्धि, जलस्रोतको दिगो तथा उत्थानशिल व्यवस्थापनको लागि सुदृढ सुशासन र जलाधार क्षेत्रको जलजन्य विविधताको संरक्षण गर्ने परियोजनाको लक्ष्य छ । परियोजनाले लैङ्गिक समानता र सामाजिक समावेशिकरणको क्षेत्रमा पनि काम गर्ने परियोजनाको क्षमता विकास विज्ञ लक्ष्मीचन्द्र महतले बताए । यी लक्ष्य प्राप्तीका लागि झण्डै २५ मिलियन अमेरिकी डलर बजेट लगानी हुने महतले बताए । क्षमता विकास विज्ञ महतका अनुसार पाँच वर्षे उक्त परियोजना सञ्चालन अवधी अब चार वर्ष बाँकी छ ।

प्रतिक्रिया