सरकारले तोक्यो उखुको मूल्य

सरकारले तोक्यो उखुको मूल्य

काठमाण्डौ :  सरकारले उखुको मूल्य तोकेको छ । आज बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य तोकेको हो ।

उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ४० रुपैयाँ तोकेको र उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताए ।

यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषदबैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषदमा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी निर्देशन दिइएको उपप्रधानमन्त्री पौडेलले बताए ।

मन्त्रिपरिषद् बैठकले सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र यातायातका सचिव गोपाल सिग्देललाई ऊर्जामा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया