कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रवार दिउँस बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैठौँ बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसदको गरि २५ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा १४ मत परेको छ । नेपाली काँग्रेसले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएन् । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा गत पुष २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी, नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादी १/१ सांसदले समर्थन गरेका थिए । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्ता साझेदार दलका शीर्ष नेतृत्वले भागबण्डामा कर्णाली प्रदेशको पाँच वर्षे कार्यकाल माओवादीलाई दिने सहमति गरेको थियो । तर, नेकपा माओवादी र नेकपा एमालेबीच आधा आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको थियो । सहमतीपछि एमालेले माओवादीलाई समर्थन गरेको थियो । सोहि सहमती अनुसार कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बनेका हुन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

कर्णाली प्रदेशमा कुल ४० सांसद छन् । कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका सभामुखसहित १० सांसद छन् । त्यस्तै राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सदस्य गरी ४० सदस्य छन् ।

प्रतिक्रिया