गाडी दुर्घटना : स्वास्थ्य क्षेत्रमा क्षती

गाडी दुर्घटना : स्वास्थ्य क्षेत्रमा क्षती

दैलेखको तीन पालिकाका गुमाए स्वास्थ्यकर्मी ।

तस्विर : दुर्घटनामा परि निधन भएका स्वास्थ्यकर्मीहरु,  दिपेन्द्रजङ्ग शाही,  राजेन्द्र बिसी, बबिन शाही  र सागर शाही ।

सुर्खेत : आइतवार विहान साढे दुई बजे रत्न राजमार्गमा सुजुकी कम्पनीको डबल क्याप हाईलेक्स गाडी दुर्घटनामा प¥यो । भेरीगंगा नगरपालिकाको छिन्चुबाट प्रदेश राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलामा हाईलेक्स गाडी दुर्घटनामा परेको हो । प्रारम्भिक अनुसन्धानबाट अनुसार गाडी आफै अनियन्त्रित भई दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । हुस्सुले सडक ढाकेका कारण झुप्राखोला जाने बाटो नाघेर करिब तीन सय मिटर अगाडि पुग्ने बित्तिकै सडक छेउमा निर्माण गरिएको डिभाइडरमा गाडी बजारिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको छ । गाडीमा सवार पाँच जनामध्ये चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार सबै स्वास्थ्यकर्मी हुन् । दुर्घटनाका कारण दैलेखका तीन पालिका डुङ्गेश्वर, गुराँस र भगवतीमाई गाउँपालिकाले स्वास्थ्यकर्मी गुमाएको छ । डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौ) ३३ वर्षिय दिपेन्द्रजङ्ग शाहीको निधन भएको छ । सोहि गाउँपालिका वडा नं. ३ बस्ने शाहीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको थियो । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा विहान पाँच बजे निधन भएको हो ।

यस्तै भगवतिमाई गाउँपालिका–५ का ३१ वर्षिय बबिन शाहीको पनि उपचारकै क्रममा निधन भएको छ । उनि सोहि गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक (छैठौ) पदमा कार्यरत थिए । त्यसैगरि गुराँस गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक (छैठौ) पदमा कार्यरत ३६ वर्षिय राजेन्द्र बिसीको निधन भएको छ । यहि गाउँपालिका वडा नं. ३ का बिसीको उपचारकै क्रममा निधन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा वीरेन्द्रनगर–७ का २७ वर्षिय सागर शाहीको पनि निधन भएको छ । सागरले नै गाडी चलाएका थिए । औषधी तथा सर्जिकल सामानको व्यापारमा संलग्न शाही रारा मेडिसिन डिस्ट्रिव्यूटर्सको प्रमुख कार्यकारी अधिकृत हुन् ।

यस्तै दैलेखकै भैरबी गाउँपालिका–५ का २६ वर्षिय बिरेन्द्रराज शाही घाइते भएका छन् । भैरबी गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक (छैठौ) पदमा कार्यरत शाहीको छात्ती र बाँया हातमा चोट छ । कर्णाली प्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउने तीन र गम्भिर घाइते भएका एक जना जनस्वास्थ्य निरीक्षक स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको ३ दिने गोष्ठिमा सहभागि हुने प्रदेश राजधानी आएका थिए । उनिहरु शनिवारदेखि सुरु भएको डिजिटल हेल्थ रिपोटिङ्ग सिस्टम र आपूर्ती व्यवस्थापन सम्बन्धी प्रदेश स्तरिय अर्धवार्षिक समिक्षा गोष्ठिमा आएका थिए ।

शोकमा स्वास्थ्य क्षेत्र

चार जना स्वास्थ्यकर्मीको निधन र एक जना गम्भिर घाइते हुनेगरि भएको दुर्घटनापछि स्वास्थ्य क्षेत्र शोकमा डुबेको छ । रसायन तथा मेडिकल आपूर्ती संघ सुर्खेतका सचिव महेन्द्रकुमार थापाले जनताको सेवामा खटिईरहेका स्वास्थ्यकर्मीहरुको निधनपछि स्वास्थ्य क्षेत्र शोकमा डुबेको बताए । नेपाल औषधी व्यवसायी संघ दैलेखले एक विज्ञप्ती जारी गर्दै कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र शोकमग्न भएको बताएको छ ।

नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश समितिका महासचिव राजेश आचार्यले स्वास्थ्यकर्मीहरुको निधनप्रति दुःख व्यक्त गरेका छन् । स्वास्थ्यकर्मीहरुको निधनपछि कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा अपुरणिय क्षती भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा रहि दैलेखी जनताको स्वास्थ्य उपचार क्षेत्रमा सेवा प्रवाह गर्दै आएका अब्बल स्वास्थ्यकर्मीहरु गुमाउनुपरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।

उक्त दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्डले चार जना स्वास्थ्यकर्मीको निधन भएको खबरले स्तब्ध तुल्याएको बताएका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया