सीप, इलमको सम्मान हुनुपर्छ : सचिव सुनार

सीप, इलमको सम्मान हुनुपर्छ : सचिव सुनार

दैलेख :   कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले सीप, इलम भएका मान्छेको सम्मान नभएसम्म व्यवसायिक क्षमता विकास हुन असम्भव भएको बताएका छन् ।

मन्त्रालयले दैलेखमा शनिवार आयोजना गरेको व्यवसायिक योग्यता प्रणाली, प्रदेश सरकारको भूमिका र निजी क्षेत्रको सहकार्य सम्वन्धी रोजगारदातासंगको कार्यशाला कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

जातजातिले गर्दै आएका परम्परागत पेशा तथा व्यवसायहरुमा आधुनिक सीप, कला र प्रविधिको उच्चतम प्रयोग गर्न सचिव सुनारले सुझाव दिए ।

त्यसबखत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालयका तालिम संयोजक प्रेम बास्तोलाले प्राविधिक शिक्षालयहरुले सञ्चालन गरिरहेको प्राविविधक शिक्षालयहरु र जातिगत पेशागतहरुको सीप परीक्षणलाई व्यवस्थित र बस्तुनिष्ट गरिंदै लगिएको बताए ।

प्राविधिक शिक्षा, व्यवसायिक प्रतिष्ठानहरु र विभिन्न निकायले चलाउने तालिमहरुमा सिकाइने सीपहरु प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले तोकेको मापदण्ड अनुसार कम्तीमा ६५ दिन अर्थात् तीन सय ९० घण्टा सञ्चालन गर्न कडाई गरिएको उनले जानकारी दिए ।

तोकिएको क्षमता अनुसार विषयगत सीप विकास भए नभएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले निश्चित मापदण्ड अनुसार परीक्षण गरिने भएकोले निष्पक्ष रुपमा परीक्षा लिने गरिएको तालिम संयोजक बास्तोलाले बताए ।

त्यसबखत सेतो गुराँस बाल विकास सेवा दैलेखका कार्यकारी निर्देशक राधा मल्लले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र सामाजिक विकास मन्त्रालयले व्यवसायिक क्षमता विकासका लागि गरिरहेका कामहरु प्रभावकारी बनाउन सुझाव दिइन् ।

व्यवसायिक योग्यता प्रणाली, प्रदेश सरकारको भूमिका र निजी क्षेत्रको सहकार्य सम्वन्धी रोजगारदातासंगको कार्यशाला कार्यक्रममा व्यवसायिक काम गरिरहेको विभिन्न पेशा तथा व्यवसायका रोजगारदाताहरुको सहभागिता थियो ।

प्रतिक्रिया