व्यावहारिक शिक्षा आजको आवश्यकता

व्यावहारिक शिक्षा आजको आवश्यकता

दैलेख: सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनारले व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शविबार दैलेख सदरमुकाममा भएको एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

स्थानीय तहकाका उपप्रमुख उपाध्यक्ष, शिक्षा तथा रोजगार शाखाका प्रतिनिधि सहितको सहभागिता कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय सुर्खेतको आयोजनामा भएको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनको लागि गाउँपालिका तथा नगरपालिका स्तरीय सञ्जाल निर्माण गर्न सहजीकरण र अभिमुखी कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै सुनारले‘अबको शिक्षा व्यवहारिक हुनुपर्ने भन्दै सामाजिक विकास कार्यालयले अब यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताए । ’उनले भने– श्रमबाट सभ्यताको सुरुवात हुन्छ, हामीले जहिले पनि श्रमको सम्मान गर्नुपर्छ, जब सम्म श्रमको सम्मान हुदैन् तबसम्म हामी विकसित हुन सक्दैनौ, सरकारले श्रम गर्नेको खोजी गर्नुपर्छ, काम सानो ठुलो हुँदैन,छोरा र छोरीलाई व्यावहारिक शिक्षा दिऔँ, श्रमको सम्मान नभए देश विकसित हुदैन् हामी भन्दा पछाडी पत्ता लागेका देशहरूले व्यावहारिक शिक्षाकै कारण कहाँ पुगिसके हामी अहिले सम्म उही अवस्थामा छौ ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम कर्णाली प्रदेशका निर्देशक प्रेम बास्कोटाले भने देशले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ, सैद्धान्तिक शिक्षा भन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिनु पर्ने आवश्यक हो । हाम्रो वरिपरि परम्परागत रूपमा विभिन्न सिप भएका व्यक्तिहरू हुनुहुन्छ त्यस्ता व्यक्तिको पहिचान गरी उनीहरूलाई प्रमाण पत्र तथा थप तालिमको व्यवस्था मिलाई दक्ष जनशक्ति निर्माणमा लाग्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालयकाे प्रस्तुतीकरण अनुसार नेपालमा बेरोजगारीको सङ्ख्या १० लाख छ, एक उद्योगले औसत ७५ जनालाई रोजगारी सृजना गरेको छ, वार्षिक ५ लाख नयाँ युवाहरू श्रम बजारमा आउँछन्, वैदेशिक रोजगारमा ४३ लाख जना रहेका छन्, जसमध्ये १.५ प्रतिशत मात्र दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष कामदारहरू रहेको देखिन्छ, वार्षिक लगभग ७ लाखलाई रोजगारीको योजना बन्ने तर ३० प्रतिशत मात्र लक्ष्य हासिल हुने तथ्याङ्कमा छ । यस्तै भए नेपाल कालो सूचिमा पर्ने सम्भावना छ । कार्यक्रमको समापनमा बोल्दै शिक्षा विकास महाशाखा कर्णाली प्रदेशका प्रमुख जवारलाल हमालले कार्यक्रममा सहमागिहरुलाई धन्यवाद दिँदै सबैको सहकार्य र समन्वय हुनुपर्ने बताए । पालिका स्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति गठन गर्ने कार्यविधि निर्माण गरी एकीकृत व्यवहारिक शिक्षामा जोड दिनुपर्ने कार्यक्रमका सहभागिहरुको भनाई थियो ।

प्रतिक्रिया