बालिका बलात्कार कसूरमा दश वर्ष कैद

बालिका बलात्कार कसूरमा दश वर्ष कैद

दैलेख – १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले आइतवार दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यलाई १० वर्ष कैद, ५० हजार रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिनुपर्ने र २२ सय रुपिंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय फैसला सुनाएको छ ।
पीडित पक्षको उजुरी, प्रहरी अनुसन्धान प्रतिवेदन, मिसिलमा संलग्न कागज प्रमाण, पीडितले अदालतमा गरेको वकपत्र समेतबाट बलात्कार भएको पुष्टि भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।


आफ्नो घरमा डेरा गरेकी ती बालिकालाई ०७८ चैत २१ गते दिउँसो बिरामी परेकी मौकामा झारफुक गरिदिने बहानामा कपडा खोल्न लगाएर बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित आचार्यलाई गिरफ्तार गरेको भनी पीडित पक्षले चैत २३ गते उजुरी गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो । उजुरीका आधारमा आचार्यलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०७९ वैशाख १४ गते बेचबिखन सम्वन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्वन्धमा वैशाख १५ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

प्रतिक्रिया