शैक्षिक सुधारमा अग्रसर पार्वती माध्यमिक विद्यालय

शैक्षिक सुधारमा अग्रसर पार्वती माध्यमिक विद्यालय

दैलेख :  जिल्लाको गुराँस गाउँपालिका -५ मा अवस्थित पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर शाहीले अहिले विषयगत विभाग बनाएर सबै शिक्षकलाई कार्य विभाजनको सुरुवात गरेका छन् । ३ वर्ष अघिसम्म यी सबै काम उनी एक्लैले गर्दै आएका थिए ।

विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजनाको सहयोगमा विद्यालय सुधारसम्बन्धी विभिन्न तालिममा सिकेका कुराका आधारमा प्रधानाध्यापक शाहीले विषयगत विभाग बनाएर सहकर्मी शिक्षक शिक्षिकाहरुलाई कार्य विभाजनका आधारमा नेतृत्व हस्तान्तरण गरे । यो अभ्यासकै कारण अहिले प्रधानाध्यपकलाई काम गर्न सजिलो त भएकै छ, संगसंगै विद्यालयको शैक्षिक गुणस्तर समेत बढेको छ ।

२०७१ सालदेखि विद्यालयको प्रधानाध्यपकको जिम्मेवारी समाल्दै आएका शाहीले त्यो बेला देखि नै विद्यालयका सानादेखि ठूला सबै काम एक्लैले नेतृत्व गर्दै आएका थिए । सबै जिम्मेवारी प्रधानाध्यपक एक्लैले संम्हाल्दा कार्य बोझ बढ्ने र शैक्षिक अवस्था समेत लथालिङ्ग हुने बताउँदै उनी भन्छन्, ‘ पहिले पहिले परीक्षाको प्रश्नपत्र टाइपिङ्ग देखि सुचना टाँसजस्ता साना देखि ठूला सबै काम आफैंले एक्लै गर्दा अन्योलको स्थिति थियो । सोचेजस्तो उपलब्धी हाँसिल गर्नै कठिन हुन्थ्यो ।’

विद्यालय सुधार योजना निर्माणबारे विगतको अनुभव सुनाउँदै उनले भने, ‘विद्यालय सुधार योजना निर्माण गर्दा पनि कपीपेष्ट गर्थ्यौँ तर, अहिले आफ्नै मौलिक र यथार्थपरक योजना बन्ने गरेको छ ।’

उनका अनुसार सन २०१९ सालदेखि सेभ द चिल्ड्रेनको सहयोगमा साेसेक नेपालले विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना विद्यालयमा सञ्चालन गरे यता प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी,विद्यालय व्यवस्थापन समितिका सदस्यको प्रत्यक्ष संलग्नतामा विद्यालय नेतृत्व तथा व्यवस्थापन सम्बन्धी १० सिद्धान्तहरू तयार गरियो । यसकै आधारमा विभिन्न क्रियाकलापरूलाई विद्यालय सुधार योजनामा प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्न थालियो, जसमा हरेक सरोकारवालाको संलग्नता बढेर गयो । यसैकाे परिणाम विद्यालयको अवस्थामा परिवर्तन आएको छ ।

प्रधानाध्यपक शाही भन्छन्, ‘अहिले हामी विद्यालय नेतृत्व तथा व्यवस्थापन सम्बन्धी १० सिद्धान्तहरूको आधारमा विद्यालय सुधार योजना निर्माण गर्छौं । योजना निर्माण गर्दा विद्यालयसंग सरोकारवालाहरुको गोष्ठी आयोजना गरी प्रथामिकीकरण गर्छौं अनि त्यसलाई योजनामा समावेश गर्छौं । यसले हामीलाई काम गर्न सजिलो बनाएको छ । नतिजा पनि राम्रै आएको छ । ’

बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने पार्वती माध्यमिक विद्यालयमा ३८७ जना विद्यार्थी अध्ययन गर्छन । विद्यालयमा १६ जना शिक्षक शिक्षिका छन । विद्यालय सुधारका लागि विद्यालयले अपनाएको नौलो अभ्यास देख्दा सोही विद्यालयका बाल क्लबका अध्यक्ष प्रेमबहादुर पनि प्रशन्न हुँदै भन्छन, ‘विद्यालयको सुधार योजना निर्माण गर्दा हाम्रो पनि सहभागिता रहन्छ । हाम्रो समस्या र मागलाई पनि विद्यालय सुधार योजनामा समावेश गरी कार्यान्वयन भएको देख्दा निकै खुशी लागेको छ ।’

विद्यालयमा गुणस्तरीय सिकाइको अवस्था बनाउँनका लागि परियोजनाले पहिचान गरेका मुख्य तत्वहरु नेतृत्व विकास, विद्यालयमा सुशासन र विकासका लागि सञ्चारको क्षेत्रमा व्यवस्थित रुपले काम गर्न सकेकाले छोटो समयमा विद्यालयले धेरै नै उपलब्धी हासिल गर्न सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर चन्दको बुझाई छ ।

परियोजना सञ्चालनमा आएपछि मुख्य सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा विद्यालयको स्वल्याङ्कन गरी सान्दर्भिक विद्यालय सुधार योजना निर्माण, नियमित अनुगमन, योजनाको वार्षिक समीक्षा, बिकेन्द्रिकृत नेतृत्वपनाको अभ्यास तथा प्रवद्र्धन, विद्यालय सुधार योजनामाआधारित प्रस्तावहरु निर्माण र अनुदानका लागि सरकारी तथा गैर सरकारी निकायहरूमा प्रस्तावना पेश गर्ने कार्य नियमित रुपमा अघि बढेको छ । प्रस्तावबाट प्राप्त अनुदानको सरकारी नीति अनुसार कार्यान्वयनको काम विद्यालयले गर्न सकेकाले विद्यालय सुशासन प्रवद्र्धनमा पनि सहयोग पुगेको प्रधानाध्यापक शाहीको कथन छ ।

विद्यालयले विभिन्न सञ्चार साधन र तरिकाहरू प्रयोग गरी विद्यालय र सरोकारवालाबीच प्रभावकारी सञ्चार र सवलीकरणको कामको पनि सुरुवात गरेको छ, ’उनले भने, ‘विद्यालयका नियमित गतिविधिहरूको जानकारी प्रदान गर्न सुचना टाँस र अद्यावधिक गर्ने, नियमित अभिभावक–शिक्षक बैठकहरू (विद्यालय, कक्षा र विद्यार्थी स्तरमा), साथै सिकाई आदान प्रदान गर्ने संस्कृतिलाई प्रवद्र्धन गर्न भिकोप मञ्चको स्थापना र नियमित अभ्यासले गर्दा सिकाईमा नयाँ आयाम थपिंदै गएको छ । यो परिपाटीले गर्दा विद्यालयको सिकाई उपलब्धीे वृद्धि भएको छ ।’

शाहीका अनुसार विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना सुरु नहुँदा विद्यालयको सिकाई उपलब्धी ४८ प्रतिशत थियो । परियोजना सञ्चालनमा आएपछि ५३ प्रतिशत पुगेको छ । अब चालु आर्थिक वर्ष २०७९/०८० मा ७ प्रतिशतले वृद्धि गरी सिकाई उपलब्धी ६० प्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया