मदिरा, सुर्तिजन्य बस्तु नियन्त्रण आवश्यक : उप-प्रमुख शाही

मदिरा, सुर्तिजन्य बस्तु नियन्त्रण आवश्यक : उप-प्रमुख शाही

दैलेख – जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाहीले मदिरा, सुर्तिजन्य बस्तु र लागू औषध नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । ४१ औं उपभोक्ता अधिकार दिवसको अवसरमा बुधवार दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेख, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दैलेख उद्योग बाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च दैलेखले आयोजना गरेको प्रभातफेरीपछि भएको अन्तरक्रिया कार्यक्रममा उपभोक्ताहरु सचेत गराउन यस्ता गतिविधिहरु निरन्तर गरिरहन उपप्रमुख शाहीले सुझाव दिनुभयो ।

त्यसबखत नारायण नगरपालिकाका मेयर लोमन शर्माले उपभोक्ताहरुको अधिकार निम्ति जागरुकता बढाउन पर्ने र व्यापारीहरुले मुनाफा बाहेक सेवाको भावना राख्न आग्रह गनुभयो ।

कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेन्द्र थापाले व्यापारीहरु पनि उपभोक्ता अधिकारमा विस्तारै जिम्मेवार हुँदै गरेको र राज्यका निकायहरुसंग सहकार्य बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले संघीय संरचनापछि स्थानीय तहलाई बजार अनुगमनको अधिकार राखिए पनि अनुगमनमा स्थानीय सरकारले तत्परता नजनाएको टिप्पणी गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना खत्री, उपभोक्ता हित संरक्षण मञ्चका सचिव अमर सुनार, जिल्ला प्रशासन कार्यालय दैलेखका बजार अनुगमन निरीक्षण अधिकृत गणेश कोइरालाले उपभोक्ता अधिकार दिवसको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

बस्तुहरुको आपूर्ति, उपभोग गर्ने अवधि, त्यसको तौल वा मात्रा, शुद्धता लगायतका गुणस्तरीयता बारे उपभोक्तालाई सचेतना अभिबृद्धि गराउन विश्व उपभोक्ता अधिकार दिवस मनाइएको हो ।

उपभोक्ता अधिकार बारे सचेतना अभिबृद्धि गर्न संयुक्त राष्ट्र संघले घोषणा गरे अनुसार हरेक वर्ष मार्च १५ तारिकमा विश्व उपभोक्ता अधिकार दिवस मनाउन थालिएको हो ।

 

 

प्रतिक्रिया