बलात्कार प्रयास कसूदारमा साढे तीन वर्ष कैद फैसला

बलात्कार प्रयास कसूदारमा साढे तीन वर्ष कैद फैसला

दैलेख – २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसूरमा दैलेख जिल्ला अदालतले दुल्लू नगरपालिका–९ पादुका गाउँका ३० वर्षीय राजेश योगीलाई साढे तीन वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको बुधवारको इजलासबाट फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

कसूरदारलाई साढे तीन वर्ष कैद, पीडितलाई १० हजार रुपैंयाँ क्षतिपूर्ति, एक लाख ५० हजार सरकारी कोषमा जम्मा हुने गरी जरिवाना र पीडित राहत कोषमा छ हजार रुपैंयाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

२०७९ असोज २९ गते राति घरमा सुतिरहेकी ती महिलालाई बलात्कार प्रयास गरेको पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजूरीका आधारमा असोज २९ गते नै पक्राउ गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २९ गते दैलेख अस्पतालमा भएको थियो ।

प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी कार्यालय मार्फत कात्तिक १८ गते जबरजस्तीकरणी उद्योग कसूरमा अभियोग पेश गरेको र कात्तिक २० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट आरोपित पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।

पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर खत्रीले बहस गर्नुभएको थियो । सरकावादी मुद्दाहरुमा जिल्ला सरकारी वकील कार्यालयले कसूरदारलाई अधिकतम् सजायको मागदावी सहित अदालतमा अभियोग दर्ता गराउने र पीडितको तर्फबाट निशुल्क बहस पैरवी गर्ने गर्दछ ।

यो घटनामा सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले पीडित पक्षलाई कानूनी सहायता, पीडित पक्षले उजुरी दिंदादेखि अदालतमा पीडित र सरकारी साथीहरु बकपत्रका लागि आउदासम्म पटकपटक निशुल्क आवासको व्यवस्था र पीडितलाई मनोविमर्श सेवा उपलब्ध गराएको थियो । पीडितले न्याय पाएको जानकारी पाउदा आफूलाई खुशी लागेको महिला तथा बालबालिका सेवा कन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बताउनुयो ।

 

प्रतिक्रिया