अभियानकर्ताको क्षमता विकास तालिम

अभियानकर्ताको क्षमता विकास तालिम

दैलेख – बालविवाह रोकथाममा जुटेका अभियानकर्ताहरुको क्षमता विकासका लागि २ दिने तालिम मंगलवारदेखि दैलेख सदरमुकाममा सुरु भएको छ ।
आवाज संस्थाको आयोजना र बाल हेल्पलाइन १०९८ को समन्वयमा बालविवाह विरुद्धको साझा अभियान सञ्जालका पदाधिकारी तथा अभियानकर्ताहरुका लागि तालिममा सञ्चालन गरिएको सञ्जालका जिल्ला संयोजक बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
बालविवाह रोकथाम सम्वन्धी कानूनको जानकारी, सामाजिक प्रथा–परम्परा, उज्ज्वल भविष्यको लागि युवा सचेतना, बालविवाह रोकथामको पैरबी तरिका, स्थानीय सरकार र नागरिक समाजको सहकार्य लगायतका विषयमा आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले सहजीकरण गरिरहनुभएको छ ।

बालविवाह गराउने अभिभावकहरुलाई कानूनी कारवाही गरिएका घटनापछि अभिभावकहरुले बालविवाह गराउने प्रचलन कम भए पनि बालबालिकाहरु आफैले भागी विवाह गर्ने चलन बढेको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका इञ्चार्ज असई सुशीला भूसालले बताउनुभयो ।
कानूनी सचेतना र शैक्षिक जागरणको अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने अनि यति हुँदा पनि बालविवाह गरेकाहरु सबैलाई मुद्दा चलाइहाल्ने गर्न सके बालविवाह रोकथाममा सहयोग पुग्ने बाल हेल्पलाइन १०९८ दैलेखका बाल संरक्षण अधिकृत प्रभाकुमार बिकको धारणा छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा बालविवाह रोकथामका लागि अभियान प्रभावकारी बनाउन आवाज संस्थाले प्रदेश स्तरको सञ्जालमा संयोजकको भूमिका निर्वाह गरेको छ । त्यसैगरी दैलेखमा चाहिँ बालविवाह विरुद्धको साझा अभियान सञ्जालको संयोजकको जिम्मेवारी सोसेक नेपालले गरेको छ ।

प्रतिक्रिया