बिकेनन् कैदीबन्दीले बनाएका हस्तकला

बिकेनन् कैदीबन्दीले बनाएका हस्तकला

दैलेख माघ २४ /
जिल्ला कारागार दैलेखमा सजाए भोगिरहेको केशव नेपाली ढाकाका पछ्यौरी, टोपी, ढक्कीजस्ता हस्तकलाका सामान बनाउँछन् । उनले बनाएका हस्तकलाका सामग्री नबिकेर जेलमै थन्किएका छन्  । उनीहरूले बनाएका सामान किन्ने मान्छे कारागार जाँदैनन् । त्यहाँ पसल राख्न नमिल्ने भएकाले सामान त्यत्तिकै थन्किएको नेपालीले बताए । नेपाली जस्तै दुई वर्षअघि कर्तव्य ज्यान मुद्दामा जेल परेका रूपन्देहीका युद्धवन गिरी अहिले सबै कुरा भुलेर जिल्ला कारागारमा नियालाका मुढा बुन्ने काम गर्दै आएका छन । अरू कैदी भन्दा फरक स्वभावका उनलाई कारागारभित्र सबैले मन पराउँन् । बिहानदेखि साँझसम्म उनी आफू मुढा बुन्छन् र अरू कैदीबन्दीलाई पनि सिकाउँछन् । तर, दुःख गरेर बुनेका मुढा बिक्री नहुँदा युद्धवन सहित सबै कैदीहरू निरास बन्दै आएका छन् ।
‘साता दिनमा थुप्रै मुढा तयार हुन्छन् । तर, बिक्री नभएर समस्या भएको छ,’ उनले भने, ‘बुनेको मुढा बिक्री नभएपछि नियालो किन्न पैसा हुँदैन ।’ उनले अघिल्लो वर्ष ७० हजार भन्दा बढीको मुढा बिक्री भएको बताए । त्यसको व्यावसायिक बजारीकरण गर्न नसक्दा समस्या भएको उनको भनाइ छ ।
कारागारमा उत्पादित सामान सुर्खेत र नेपालगन्जसम्म पुगेका छन् । यहाँ भने कुनै महत्व छैन । सामान बिक्री गर्न प्रचार प्रसार समेत नभएको उनले गुनासो गरे ।
जिल्ला कारागार दैलेखमा कैदीबन्दीले बनाएका सामग्रीहरु दैलेख जिल्लामा खपत नभएको उनिहरुको गुनासो छ ।
जेलमा रहेका कैदीबन्दी विभिन्न हस्तकला मुढा, डाइनिङ सेट, पलङको लेस, ढाका टोपी, ढक्कीजस्ता सामग्री तयार पार्छन् । तर, सरोकारवाला निकायले चासो नदिँदा सामान बिक्न मुस्किल भएको छ । दैलेखमा स्थानीय उत्पादन र हस्तकला खरिदबिक्रीका लागि एउटा कोसेली घर समेत छैन ।
जिल्ला कारागारमा १ सय १८ पुरुष र ११ महिला कैदीबन्दी छन् । तीमध्ये थोरैले मात्र यी काम गर्दै आएका छन् । अरूले पनि सीपमूलक तालिमको अपेक्षा गरेको कारागार प्रमुख जितबहादुर खत्रीले बताए ।
हालसम्म कुनै संघसंस्थाले सीपमूलक तालिम व्यवस्था नगरेको महिला अगुवा बिन्दु शाहीले बताइन् । दिनभर काम नगरीकन बस्दा विभिन्न किसिमका रोग र डिप्रेसनले सताउने गरेको उनी बताउँछिन् । ‘जेलमा खेलकुद र सीपमूलक तालिम आवश्यक छ,’ शाहीले भनिन्  ।
कारागारमा रहेका कैदीको जेलमा पुस्तकालय व्यवस्था, हस्तकलाका तालिम र खरिद बिक्रीका लागि सहयोग, मनोवैज्ञानिक पुनस्स्थापनामा ध्यान, परामर्श आदि व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् । रेडियो र टेलिभिजनको समेत व्यवस्था छैन । कारागारमा कुनै सवारी साधन नहुँदा कोहि बिरामी परे उपचारका लागि लैजान गाह्रो भएको कारागार प्रमुख जितबहादुर खत्रीले जानकारी दिएका छन् ।

कारागारमा बनाएका सामानले बजारीकरण नपाउँदा मारमा परेका कैदीबन्दी ।

प्रतिक्रिया