‘६ नं. प्रदेशको समृद्धि, दैलेखको पेट्रोल’

‘६ नं. प्रदेशको समृद्धि, दैलेखको पेट्रोल’

‘प्रदेशको समृद्धि पेट्रोल’

दैलेख : दैलेखमा रहेको पेट्रोलियम खानी प्रदेश ६ को आम्दानीको मुख्य स्रोत बन्ने विषयमा जिल्लामा बहस सुरु भएको छ। जिल्लाका तीन स्थानमा भेटिएको पेट्रोलियम पदार्थको खानी प्रदेश सरकारले प्राथमिकतामा राखेको अवस्थामा समृद्धिमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन्।

अब बन्ने प्रदेश सरकारले ती खानी उत्खननलाई पहिलो प्राथमिकता दिनुपर्ने स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र वुद्धिजीवीको भनाइ छ। दैलेखको पेट्रोलियम खानी नै प्रदेशको समृद्धिको मुख्य आधार रहेको उनीहरूको दाबी छ।

विगतदेखि दुल्लु नगरपालिका क्षेत्रमा रहेका पेट्रोलियम खानीको खोज अनुसन्धान हुँदै आए पनि नयाँ प्रदेश सरकारले प्राथमिकतामा राख्न सके त्यो विकासको कोसेढुंगा सावित हुन सक्ने जनप्रतिनिधिको भनाइ छ। लगानीका हिसाबले धेरै खर्च गर्नुपर्ने भए पनि ती खानीबारेमा प्रदेश सरकारको चासो देखिनुपर्ने उनीहरू बताउँछन्। सँगै ऐतिहासिक एवं पुरातात्विक वस्तुको संरक्षण संवद्र्धन गरी अघि बढ्नुपर्ने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए।

(पेट्रोलियम उत्खनन भए प्रदेश सरकारको स्रोतवृद्धिमा सहयोग पुग्न सक्छ)

‘खोजअनुसन्धान मात्र होइन, तत्काल उत्खनन एवं सञ्चालन गर्न सके अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेशको समृद्धि छिटो हुने थियो’, उनले भने। प्रदेश सरकारले समन्वय गरेको अवस्थामा नगरपालिका हातेमालो गर्न तयार रहेको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले पनि दैलेखको पेट्रोलियम खानीको उत्खननमा प्रदेश सरकार बढी गम्भीर हुनुपर्नेमा जोड दिए। केपी ओली सरकारले उक्त पेट्रोलियम खानीका विषयमा धेरै चासो देखाए पनि पछिल्लो समय उक्त कार्य ठप्प भएपछि प्रदेश सरकारले जिम्मेवारी लिनुपर्नेमा स्थानीयले जोड दिएका छन्। यसका लागि प्रदेश सांसद् बढी जिम्मेवार हुनुपर्ने सबैको भनाइ छ।

प्रदेशसभाको आगामी बैठकबाट प्रक्रियागत रूपमा पेट्रोलियम खानीका विषयमा एजेन्डासहित काम गर्ने दैलेखका प्रदेशसभा सदस्य सुशीलकुमार थापाले बताए। आफ्नो क्षेत्रभित्र पर्ने भएकाले पनि उक्त एजेन्डा प्र्रदेश सरकारको प्राथमिकता राख्न पहल गर्ने उनको भनाइ छ। केन्द्र सरकारले सुरु गरेको उत्खननलाई प्रदेश सरकारले पूरा गर्नुपर्ने र प्रदेश सरकारको समन्वयमा आफूले महŒवपूर्ण भूमिका निर्वाह गर्ने एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद रवीन्द्रराज शर्माले बताए। दैलेखको पेट्रोलियम पर्दाथको उत्खनन गरेको अवस्थामा आन्तरिक रूपमा मात्र नभई बाहिर पनि निर्यात गरी प्रदेश सरकारको स्रोतवृद्धिमा सहयोग पुग्ने उनको भनाइ छ।

२०७२ पुसमा केपी ओली सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले लामो समयदेखि खेर गएको दैलेखको पेट्रोलियम पर्दाथको चिनियाँ टोलीको सहयोगमा अन्वेषण कार्य उद्घाटन गरेका थिए। पाण्डेले चिनियाँ टोलीलाई अन्वेषण तथा उत्खननको जिम्मेवारी हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया