मेयर चौधरी गोलीकाण्डः चार आरोपी सार्वजनिक

मेयर चौधरी गोलीकाण्डः चार आरोपी सार्वजनिक

 १ चैत, धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाका  मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार  गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनगढीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो ।पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी छन् । उनीहरु नेकपा माओवादी विप्लव समूहका रहेको प्रहरीको भनाइ छ ।उनीहरुलाई मेयर चौधरीलाई गत फागुन २८ गते राति खुकुरी र गोली हानेको आरोप छ । टाउकोमा खुकुरी र कम्मर मुनिको भागमा गोली लागेर घाइते भएका चौधरीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा अन्य ९ जनाको समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै खोजी र अनुसन्धान भइरहेको जानकारी दिए । नेकपा माओवादी बिप्लव समूहले स्थानीय निकायमा भैरहेको भ्रष्टाचारविरुद्ध तीन महिने कारवाही अभियान चलाएको घोषणालगत्तै मेयर चौधरीमाथि आक्रमण भएको हो ।

प्रतिक्रिया