एकै व्यक्तिको दुई वटा नागरिकता
दैलेख, चैत १३ –दैलेखको दुल्लू नगरपालिका–३ का २६ वर्षीय जगतबहादुर कार्की किर्ते विवरण पेश गरी दोस्रो नागरिकता लिएको आरोपमा प्रहरी हिरासतमा परेका छन् । बमबहादुर कार्कीका २६ बर्षिया छोरा जगतबहादुर काकीले किर्ते विवरण तयार गरी नागरिकता लिएको आधारमा कानूनको फन्दामा परेका हुन् ।जन्म मिति २०४८ माघ २५ गते उल्लेख गरी २०६७ भदौ ५ गते प्राप्त गरेको नागरिकता छँदाछँदै गत भदौ २७ गते मदनबहादुर कार्की नाम र २०५४ भदौ २५ गते जन्म मिति खुलाएर किर्ते नागरिकता लिएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी कारवाही चलाउन सोमवार प्रहरी हिरासतमा पठाएको हो ।
पहिलो नागरिकता अनुसार उमेर नाघिसकेकोले नेपाली सेना तथा नेपाल प्रहरीमा भर्ती हुन प्रयास गर्ने उद्देश्यले किर्ते विवरण पेश गरी दोस्रो नागरिकता लिएको कार्कीले बताएका छन् । ९ कक्षा उत्तीर्ण गरेका कार्कीले दोस्रो नागरिकता लिएपछि गएको असोजमा नेपाली सेनाको जवान पदको खुला प्रतिस्पर्धामा सहभागी भई मेडिकलमा फालिएका थिए । मतदाता नामावलीदेखि सबै काम अघिल्लो नागरिकबाट गराएको उनले बताएका छन् ।
निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकतामा जन्म मिति फरक परेको प्रकरण चर्चामा आएको बेला आफूले लिएको दोस्रो नागरिकताले केही अप्ठ्यारो पर्न सक्ने भन्दै दोश्रो नागरिकता रद्द गरी दिन जिल्ला प्रशासन कार्यालयमा आफैले निवेदन दिएपछि किर्ते विवरण दिई दोस्रो नागरिकता लिएको खुलेको हो ।
नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा (३) मा किर्ते विवरण खडा गरी नागरिकता लिएमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २० हजारदेखि ५० हजार रुपैंयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।
किर्ते विवरणका आधारमा लिएको नागरिकता रद्द गरिदिन आफैले लिखित निवेदन दिएकोले सुधारात्मक दण्ड गर्ने गरी कानूनी कारवाही अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले जानकारी दिए ।
उक्त घटना बारे प्रहरीले अनुसन्धान थालिसेको र किर्ते विवरण बनाई दोस्रो नागरिकता लिएको विषयमा दैलेख जिल्ला अदालतमा मुद्दा लिने तयारी भएको जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक न्यायधिवक्ता कौशल ढुंगानाले बताए ।
प्रतिक्रिया