द्धन्द्धमा हत्या गरि गाडिएका शव खोज्दै आफन्त, १४ वर्ष पछि दाहसंस्कार
दैलेख- दैलेखमा अहिले द्धन्द्धमा मृत्यु भएका आफन्तहरुको शव उत्खनन् गर्दै दाहसंस्कार गर्ने क्रम बढेको छ । २०६२ सालमा तत्कालिन नेपाली सेनाद्धारा हत्या गरि जंगलमै शव गाडिएका दैलेखको नारायण नगरपालिका ३ का उदय रेग्मी र सुकुलसिंहको शव आफन्तले ६ महिना अघि उत्खनन् गरे । शनिवार पुनः महावु गाउँपालिकाका ऐनबहादुर शाहीको शव आफन्तले उत्खनन् गरेका छन् ।
द्धन्द्धकै बेला नेपाली सेनाले पक्राउ गरि हत्या सँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका ६ का ऐन बहादुर शाहीको शव आफन्तले १४ बर्षपछि आफन्तले उत्खनन् गरेका हुन् ।
२०६० साल साउन १७ गते दैलेखको धरमपोखरा भन्ने स्थानमा ऐनबहादुर शाही सहित १२ जनालाई नेपाली सेनाले पक्राउ गरेको र अन्यलाई छोडिदिएको भएपनि शाहीलाई चरम यातना दिएर मृत्युपश्चात उनको शव धरमपोखरा जंगलमा गाडिएको थियो ।
ऐनबहादुर शाहीका छोराहरु गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्धन्द्धकै क्रममा बिदेसिएका थिए । घर छोडेका ३ भाई मध्ये १ जना अहिलेपनि नेपाली सेनामा कार्यरत छन् भने अन्य दुई जना बिदेशबाट घर आएपछि बुवाको साँस्कृतिक मान्यता अनुसार काजकिरिया गर्ने सहमती भएपछि शनिवार शव उत्खनन् सँगै दैलेखको शिरिस्थानमा औपचारिक दाहसंस्कार गरिएको छ ।
शव उत्खनन्मा पुगेका आफन्तलाई तत्कालिन घटना सुनाउँदै प्रत्यक्षदर्शी अमृता बि.सी.ले भनिन् घर नजिककौ घटना हो, त्यतीवेला निकै धेरै यातना दिईएको थियो, हात भाँच्ने, आँखा, फुटाउने सम्मका कामहरु गरेर निकै क्रुर तरिकाले हत्या गरिएको थियो । त्यस्तो दिन कसैलाई नआओस भन्दै हामी घरभित्र लुक्यौं ।
माओवादीकै आरोपमा बुवालाई तत्कालिन सेनाले हत्या ग¥यो, अहिलेसम्म माओवादी नेताहरु घरमा भेट्न सम्म पुगेका छैनन््, निकै दुःख लागेको छ । बुवाको मृत्युपछि घरपरिवारको अवस्था झनै नाजुक बन्यो मृतक ऐनबहादुर शाहीका माइला छोरा बृखबहादुर शाहीले गुनासो गरे । मृतककी आमा तुलसी शाहीले नातीहरुलाई छोराको धार्मिक मान्यताअनुसार काजकिरिया गरिदिन बारम्वार आग्रह गरेपछि परिवारले उत्खनन् सँगै काजकिरिया गरेको बताए । दैलेखमा तत्कालिन समयमा राज्यपक्ष र बिद्रोही दुवै पक्षबाट हत्या गरिएका र शव वेपत्ता पारिएका करिव ३ सय बढी मानिसहरु रहेका छन् ।
माओवादी भएकै आरोपमा मारिएकाहरु २ सय ७० भन्दा बढी भएको माओवादी नेताहरुले बताए । Dhamaka online.
प्रतिक्रिया