वैशाख २ गतेदेखि विद्यार्थी भर्ना र किताब वितरण अभियान

वैशाख २ गतेदेखि विद्यार्थी भर्ना र किताब वितरण अभियान

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख २ गतेदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानको घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सरोकारवालाहरुको उपस्थितिमा उक्त अभियानको घोषणा गरेका हुन् । विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षाकोठासम्म ल्याउन र भर्ना भएकै दिन पूरा सेट पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यका साथ अभियानको घोषणा गरिएको हो । अभियानअन्तर्गत प्रधानमन्त्री केपी ओलीले कर्णालीका कुनै एक बालबालिकालाई विद्यालयमा भर्ना गरेर पाठ्यपुस्तक हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्रालयले घोषणा गरेको कार्यक्रममा साथ र सहयोग दिन समेत अपील गरिएको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारा समेत दिइएको छ । नारा अनुसार शिक्षाबाट बाहिर रहेका विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा अन्य पिछडिएका वर्गका बालबालिकालाई विद्यालयमा भर्ना गर्न सहयोग गर्न सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।
राजनीतिक दलका नेता, शिक्षा क्षेत्र सम्बद्ध निकायहरु, सामाजिक संघसंस्था, कलाकार, विद्यार्थी संघसंगठन, गैरसरकारी संघसंस्था, निजी क्षेत्र र अभिभावकहरुको उपस्थितिमा मन्त्रीले अभियानको घोषणा गरेका हुन् । ‘शिक्षाको महत्व बुझेका प्रत्येक नागरिकले विद्यालयभन्दा बाहिर रहेका एकजना बालिबालिकालाई भर्ना गर्न सहयोग गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘भर्ना भएका बालक वा बालिकालाई आवश्यक न्युनतम स्टेशनरी र पोसाकको व्यवस्थासहित निरन्तर अभिभावकत्व ग्रहण गर्दिनँ समेत आग्रह गरेका छौं ।’ अभियानलाई सशक्त र प्रभावकारी बनाउन सातवटै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकास मन्त्रीलाई डाकेर छलफल गरिने उनले बताए । मन्त्रीले भने ‘प्रत्येक स्थानीय तहका जनप्रतिनिधिले आफ्ना क्षेत्रका बालबालिकालाई विद्यालय पुर्याउन मद्दत गर्न आवश्यक छ ।’
२०७४ को शैक्षिक तथ्याङ्कअनुसार प्राथमिक तहमा (५ देखि ९) उमेर समूहका २ दशमलब ८ प्रतिशत र आधारभूत तह (१–८) कक्षाका ५ वर्षदेखि १२ वर्ष उमेर ७ दशमलब ७ प्रतिशत बालिकाबालिका अझै पनि विद्यालय बाहिर छन् । यसअघि पनि प्रत्येक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गरे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराएर कक्षाकोठामा टिकाई राख्न विशेष अभियान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा उपस्थित हरिवंश आचार्य, मिथिला शर्मा, सुनिल पोखरेल, आनी छोइङ डोल्मा, बद्री पंगेनी, संगीतकार प्रदीप बम्जनलगायत कलाकारले सरकारको अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाए । विद्यार्थी भर्नामात्रै भन्दा पनि उनीहरुलाई विद्यालयमा टिकाइराख्ने र उचित शिक्षा दिनेतर्फ मन्त्रालयको ध्यान हुनुपर्ने उनीहरुको सुझाव थियो । २०६१ सालदेखि नै विद्यार्थी भर्ना अभियान चल्दै आएको छ ।
आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रुपन्देही, सप्तरी सिराहा, महोत्तरी र बाँके जिल्लाका २५ हजार ५ सय १५ बालबालिका विद्यालय बाहिर छन् । यसपटक १० वर्षपछि समयमा पाठ्यपुस्तक छपाइ भएकाले भर्ना भएकै दिन विद्यार्थीले पाठ्यपुस्तक पाउने शिक्षा विभागको दाबी छ ।

प्रतिक्रिया