स्वरोजगारका लागि सीप आवश्यक

स्वरोजगारका लागि सीप आवश्यक

दैलेख, चैत २९ – प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले युवा जनशक्तिलाइ स्वरोजगार र आत्मनिर्भर बनाउन सीप र प्रबृद्धि सिकाउन आवश्यक रहेको बताएकी छिन् । जिल्ला युवा समितिको कार्यालयले आज दैलेख सदरमुकाममा आयोजना गरेको युवा परामर्श कार्यक्रममा बोल्दै उनले सो विचार राखेकी हुन् ।


साँसद बिशुन्केले युवाहरुलाई स्वरोजगारमूलक सीप सिकाउन स्थानीय सरकारले लगानी बढाउन आवश्यक रहेको औल्याइन् । युवा जनशक्तिलाई स्वदेशमै परिश्रम गर्ने अवसर सिर्जना गर्न सके मात्र देशको समृद्धि संभावना रहेको उनले बताइन् ।
कार्यक्रममा स्थानीय समन्वय अधिकारी नारायणबहादुर कुँवरले ज्ञान, सीप र क्षमता भएकोलाई जनशक्ति मानिने भएकोले युवाहरुको उद्यमशील बनाउन युवाहरुको इच्छाशक्ति आवश्यक रहेको बताए ।
जिल्ला युवा समितिका उपाध्यक्ष चन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता बिनोद श्रेष्ठ, निमित्त जिल्ला शिक्षा अधिकारी भीमप्रसाद शर्मा लगायतले युवा स्वरोजगारी अवसर र कठिनाईका विषयमा बोलेका थिए ।
औपचारिक उद्घाटनपछिको प्राविधिक सत्रमा सहभागी ६० भन्दा बढी युवाहरुलाई स्थानीय आवश्यकता, स्वरोजगारी र आत्मनिर्भरताका संभावना विषयमा घरेलु तथा साना उद्योग समितिका सुनमाया सुनार, र गोठपाडा सहकारी संस्थाका व्यवस्थापक दिनेश थापा, सेडाका भरत अधिकारी लगायतले उद्यमशीलता बारे अभिमुखीकरण गरेका थिए ।

प्रतिक्रिया