बालमैत्री शिक्षण आवश्यक

बालमैत्री शिक्षण आवश्यक

दैलेख, शिक्षा विकास तथा समन्वय इकाई दैलेखका शाखा अधिकृत हरिबहादुर खत्रीले बालमैत्री शिक्षण वातावरणले मात्र शैक्षिक गुणस्तर सुधार हुन सक्ने बताएका छन् ।
दैलेख सदरमुकाममा बालमैत्री शिक्षण सिकाईका लागि मनोसामाजिक सहायता सम्वन्धी २ दिने तालिमको समापन कार्यक्रममा बोल्दै सोमवार उनले शैक्षिक वातावरण राम्रो बनाउन शिक्षण सिकाईको निरन्तर मूल्यांकन र त्यसको आधारमा सुधारका प्रयत्न गर्नुपर्ने सुझाव दिएका हुन् ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित सहयात्रा परियोजनाको कार्यक्षेत्रका आधारभूत तहका ३० शिक्षकहरुको सहभागिता रहेको तालिममा मनोसामाजिक समस्या प्रकृति सहायता विधि र प्रक्रिया बारे मनोविमर्शकर्ता अमर सुनार र निर्मला बीसीले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले तालिमबाट सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न सके विद्यालय, समुदाय र परिवारमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
उनले शिक्षकहरु समाज परिवर्तन सम्वाहक भएकाले बालविवाह, बालश्रम, महिला हिंसा, छाउपडी लगायतका सामाजिक समस्या सुल्झाउन अग्रसरता जनाउन आग्रह गरे ।
त्यस बखत सेभ द चिल्ड्रेनका शिक्षा अधिकृत उमेशकुमार बिकले यस्ता तालिमहरुले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा विभाग तयार पारेका २८ वटा मापदण्ड मध्ये शिक्षकहरुलाई बालमनोविज्ञान तालिम पनि मुख्य आधार मानिएको बताउदै तालिमले शिक्षण पद्धतिमा समेत छिटो परिवर्तन देखिने बताए ।
कार्यक्रममा सरस्वती मावि खड्कवाडाकी शिक्षक मीनाकुमारी खड्का र जयजनता मावि जोरेबाँझका शिक्षक टेकबहादुर केसीले तालिमले बालमनोविज्ञान बुझ्ने तरिका बारे सीप र ज्ञान बढेको बताए ।

प्रतिक्रिया