विकास साझेदार संस्थाहरुसँग कार्यशाला गोष्ठि सम्पन्न

विकास साझेदार संस्थाहरुसँग कार्यशाला गोष्ठि सम्पन्न

नगरपालिकाको चौतर्फि र सन्तुलित विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै नीजि संस्थानहरुलाई स्थानीय तहमा लगानीको सुरक्षाका साथै एकद्धार नीति लागु गर्ने उद्धेश्यले दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले विकास साझेदार निकायहरुसँग दुई दिने कार्यशाला गोष्ठिको आयोजना गरेको छ । उक्त गोष्ठिमा एक दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागीता रहेको थियो ।
गोष्ठिमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम पेश गरेको थियो । आर्थिक विकास नीति, सामाजिक विकास नीति, पूर्वाधार विकास नीति, वातावरण तथा पूर्वाधार विपद् व्यवस्थापन नीति, संस्थागत विकास सेवा प्रवाह नीतिका साथै सुशासन नीति रहेको कार्यपत्रमा जनाईएको छ ।
कृषिलाई नगरको आर्थिक, विकासको मेरुदण्डको रुपमा विकास गर्न आधुनिकिकरण, विविधिकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने, विद्यालयमा सबैको पहूँचलाई सुनिश्चित गर्दै शिक्षामा गुणस्तर अभिबृद्धि गर्ने, खानेपानी, सिचाई, नदि नियन्त्रण, सडक, भुक्ष्य नियन्त्रणका सम्बन्धमा वस्तुगत स्थिती अध्यावधिक गरी निर्दिष्ट विषयगत मापदण्ड बमोजिम योजना कार्यान्वयन गर्ने, नगरमा आइपर्ने विपद् ब्यवस्थापनका लागि छुट्टै कोषको व्यवस्था गर्ने, सहभागीतामूलक योजना तर्जुमालाई अबलम्बन गर्ने लगायतका मुख्य कार्यहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
साझेदार निकायको सहयोग विना विकास गर्न सम्भव नभएकाले स्थानीय तहमा लगानीमैत्री वातावरण तयार गर्न जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाको भनाई थियो । जिल्लामा पहिलो पटक चामुण्डाविन्द्रासैनी नगरपालिकाले लगानीमैत्री वातावरण तयार गर्न विकास साझेदार निकायहरुसँग गोष्ठिको आयोजना गरेकाले थापाले धन्यवाद दिएका थिए ।
मठमन्दिर, कल, संस्कृतिको जगेर्ना, लैनचौरमा शित भण्डार, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलमैदान, फराकिला सडक, नगरपालिकाको मापदण्ड अनुसारका घर निर्माण, दिर्घकालिनरुपमा परिवर्तन गर्ने ठुला योजना सञ्चालन र नौ वडामा फरक फरक पहिचान सहितका नौ वटा काम गर्ने योजना रहेको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए । उनले थपे, असारमा गरिने आगामी वर्षको योजना तर्जुमाका लागि विकास साझेदार सस्थाहरुको अनुभव र सुझावले थप सहज होस भनेर गोष्ठि आयोजना गरिएको हो । नगरपालिकाको नीति तथा कार्यक्रममा तोकिएका क्षेत्रहरुमा साझेदार निकायहरुलाई लगानी गर्न आग्रह गर्दै उनले भने शिक्षा मुख्य चासोको विषय भएकाले केही विद्यालयहरुलाई नमुना बनाउने योजना रहेको छ । शिक्षकहरु विद्यार्थी र आफ्नो पेशाप्रति जवाफदेही नभएर राजनैतिक कार्यकर्ता र माथिल्लो कार्यालयप्रति जवाफदेही भएकाले गुणस्तरीय शिक्षा हुननसकेकोमा उनले दुःख व्यक्त गरेका थिए ।
मानव अधिकार र स्वतन्त्रताका कुरा गरेर नथाक्ने हामी नेपालीको गलत संस्कारले गर्दा विकास देखिने गरी हुन नसकेको शाहीको भनाई थियो । समुदायमा बुझिने गरी कुरा गर्न र परिणाम आउने गरी काम गर्न सबै साझेदार निकायहरुलाई शाहीले आग्रह गरेका थिए ।
साझेदार निकायहरुबाट नगरपालिकाले पैसा नभएर प्रतिवद्धता र अनुभव चाहेको उनको भनाई थियो । उनले भने, हामी फलफुलको बगैचा होइन जंगल बनाउन चाहान्छौं । बृक्षा रोपणले हरियाली मात्रै नभएर वातावरणमैत्री र विपन्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न चाहान्छौं । आधुनिक कृषि, कृषिमा आधुनिक उद्योग, पर्यटन तथा पूर्वाधार, चामुण्डाविन्द्रासैनी नगरपालिका समृद्धिको मुल आधार भन्ने नारालाई सफल पार्न नगरपालिकामा लगानी मैत्री वातावरण तयार भएकाले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरेका थिए ।
हाम्रो सोचाई परिवर्तन नभए सम्म विकास हुन नसक्ने उपप्रमुख तारा शाहीको भनाई थियो । समाजमा लैङ्गिक विभेद र बालबालिकाप्रति हेर्ने व्यवहारमा परिवर्तन नआएको बताउदै शाहीले भनिन् बालबालिका र महिलासँग सम्बन्धित सबै समस्याको समाधानका लागि नगरपालिका प्रतिवद्ध छ ।
साझेदार निकायका प्रमुख तथा प्रतिनिधिहरुले चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन गरिरहेका र आगामी दिनमा गर्न सक्ने कार्यक्रमको जानकारी गरेका थिए । धेरै महत्वकाँक्षी योजनाहरु नबनाएर विपन्न समुदायको जीवनस्तरमा तत्काल राहत दिने कार्यक्रम लागु गर्न साझेदार निकायहरुको सुझाव थियो ।
नगरपालिकाले तयार गरेको नीति तथा कार्यक्रम अनुसार साझेदार निकायहरुले कार्यक्रम सञ्चालन गर्ने, विकासमा एकद्धार प्रणाली अपनाउने, नगरपालिकाको योजना तर्जुमामा आ आफ्नो बजेट तथा कार्यक्रम समावेश गर्ने र नगरपालिकाले लगानीको वातावरण तयार गरी लगानी सुरक्षाको प्रत्याभूति गर्ने लगायतका प्रतिवद्धता कार्यशालामा गरिएको छ ।

प्रतिक्रिया