डेकेन्द्र थापा हत्या आरोपीलाई कानुनी कार्बाहीको माग

डेकेन्द्र थापा हत्या आरोपीलाई  कानुनी कार्बाहीको माग

दैलेख बैशाख २०- नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीलाई कानुनी कार्बाहीको माग गरेको छ । २०६१ सालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भएका मुख्य ओरोपीहरु अहिले पनि खुलेयाम हिडिरहेको भन्दै उनिहरुलाई तत्काल पक्राउ गरि कानुनी कार्बाहीको माग गरेको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा बिहीबार दैलेख सदरमुकाममा आयोजित पत्रकार सुरक्षा र सूचनाको उपलब्धता विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महासंघले आरोपीलाई कार्बाहीको माग गरेको हो । महासंघले हत्यामा संलग्न अभियुक्तहरुलाई पक्राउ गर्न सुरक्षा निकायहरुलाई समेत ध्यानाकर्षण गराएको छ ।
प्रस्तुत कार्यपत्रमा दैलेख सुर्खेत सडक खण्डलाई डेकेन्द्र राजमार्गको रुपमा नामाकरण गर्न समेत माग गरेको छ । तत्कालिन जिल्ला विकास समितिले दैलेख सुर्खेत सडक खण्डलाई डेकेन्द्र राजमार्ग नामाकरण गर्ने गरि जिल्ला परिषदबाट पास गरेको भएपनि अहिले सम्म उक्त निणर्य कार्यान्वयन नभएको भन्दै निणर्य कार्यान्वयन हुनुपर्ने माग गरिएको पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसीले जानकारी दिएका छन् ।
यस्तै महासंघले प्रेस स्वतन्त्रताको पूर्ण उपभोग गर्न सूचनाको सहज रुपमा उपलब्ध गराउन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेको छ । जिल्लामा हुने विज्ञापनहरुलाई स्थानीय पत्रपत्रिका र रेडियोहरुमा न्योयोचित वितरणको समेत माग गरिएको महासंघका अध्यक्ष चक्र केसीले जानकारी दिएका छन् ।
दिवसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले संचारमाध्ययममा प्रकाशन/प्रशारण भएका समाचारहरु विश्वसनिय हुनुपर्ने सुझाव दिएका छन् ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जिल्ला समृद्ध बनाउनका लागि पत्रकारहरुको एकता हुनु जरुरी रहेको बताए । उनले जिल्लाका स्थानीय तहहरुमा हुने भ्रष्टाचार अन्त्यका लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले संचार माध्ययमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नगरपालिकाका नागरिकहरु र पत्रकारहरुलाई सूचनाको सहज पहुँचका लागि नगरपालिकाले १० लाख खर्च गरेर सूचना केन्द्र स्थापना गर्ने तयारी थालेको बताए ।
यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्य बहादुर शाहीले विश्वसनिय समाचारहरु प्रकाशन, प्रशारण गर्न पत्रकारहरुलाई सुझाव दिएका छन् । उनले दुःख दिने नियतले गलत समाचार प्रकाशन/प्रशारण नगर्न जिल्लाका संचारकर्मीहरुलाई आग्रह गरे । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जिल्लामा संचार क्षेत्रको विकासका लागि जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले सबै समाचारहरु नकारात्मक नहुने बताउदै संचार माध्ययममा प्रशारण प्रकाशन भएका समाचारलाई सिकाईको रुपमा लिनुपर्ने बताए ।
दिवसको अबसरमा आयोजित कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लमा क्रियाशिल पत्रकार, स्थानीय तहका प्रमुख, उपप्रमुख, सर।कारी तथा गैरसरकारी निकायका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया