क्षेत्रीय अस्पतालमा गर्भवति महिलाको मृत्यु

क्षेत्रीय अस्पतालमा गर्भवति महिलाको मृत्यु

                                                                                  घटनापछि तनावपूर्ण अवस्था

सुर्खेत, २१ वैशाख – अस्पतालको चरम लापरवाहीका कारण सुर्खेतमा एकजना गर्भवती आमा र बच्चाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा महाबु गाउँपालिका ३ कालिकोटकी ३२ वर्षिया मनिसरा सिंहको आज मृत्यु भएको हो । सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आउनुभएकी मनिसराको गुप्तांगबाट पानी बगेको भनी हात हालेर पानीका पोका फुटालेर भर्ना गरेको आफन्तले बताएका छन् ।
हिजो विहिवार बिहान ११ बजे अस्पताल पुग्नुभएकी उहाँलाई दिनभरी सुत्केरी व्यथा नै नलागेको मृतककी दिदी गोमा शाहीले बताउनुभयो । अस्पतालमा दिनभरी मनिसराले आफूलाई बचाइदिन भन्दै हार गुहार गर्दा पनि राती १ बजेसम्म पनि उपचारका लागि गर्भवति महिला नजिक डाक्टर नपुगेको मृतककी दिदी गोमाले बताउनुभयो । अस्पतालका डाक्टर तथा नर्सहरुले बिरामीलाई भेट्नका लागि आफन्तलाई भित्र जानसमेत नदिएको आफन्तले बताएका छन् । बिरामीलाई आफन्तले भित्रै गएर भेटेमा ५ सय रुपैयाँ जरिवाना तिराउने भन्दै चेतावनी दिएको पनि उनीहरुले बताएका छन् ।

सुत्केरी व्यथा नै नलागेकी मनसरीलाई त्यही समयमा सुई लगाइदिएको र जबरजस्ती छातीमा थिचेको पनि मनिसराकी दिदी गोमाले बताउनुभयो । मनिसराकी आमा कौशिला शाहीले पनि अस्पतालको लापरवाहीले नै आफ्नो छोरीको मृत्यु भएको दावी गर्नुभएको छ । उपचार गर्न नसक्ने भए क्षेत्रीय अस्पतालले अन्तै लैजान सुझाव दिएको भए आफूहरु बाहिर लैजान सक्ने बताउँदै त्यस्तो सुझावसमेत नदिएको आफन्तहरुको दावी छ । अस्पतालले जानी जानी लापरवाही गरेको भन्दै आमा कौशिलाले दोषीलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । साथै मनसराको एक छोरा र छोरीको सम्पुर्ण जिम्मा पनि अस्पतालले लिनुपर्ने आमा कौशिलाको भनाई छ ।

यता, अस्पताल प्रशासनले भने मृतकका आफन्तले गरेको दावी अस्वीकार गरेको छ । अस्पतालका कारण नभई पानी पोका आफै फुटेर फोक्सोमा पानी गएकाले मनसराको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर डम्मर खड्काले बताउनुभयो । घटना भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले अस्पतालमै पुगेर घटनाबारे सोधपुछ् गरेका छन् ।

मरेकै बच्चा तीन दिनदेखि पेटमा, अस्पतालले वास्ता गरेन

यसैबिच, दैलेखको ठाँटीकाँध गाउँपालिकाकी चाकुरी वि.क. तीन दिनदेखि पेटमा दुई वटा मृत बच्चाका साथ अस्पतालमै उपचारका लागि भर्ना हुनुभएको छ । वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उहाँका आफन्त हरी वि.क.क्षेत्रीय अस्पताल आउनुभयो । १९ गते भिडियो एक्सरे गर्दा दुई वटै बच्चा मृत भएको जानकारी अस्पताल प्रशासनले हरीलाई दिएको थियो । तर अहिलेसम्म पनि चाकुरीको अप्रेशन हुन सकेको छैन । वेवास्ता नगर्न आग्रह गर्दा आफूलाई डाक्टरले उल्टै हप्काएको आफन्त हरीले बताउनुभयो । अस्पतालले भने अवस्था हेरेर अप्रेशन गरिने बताएको छ ।

प्रतिक्रिया